जाजरकोटमा भुकम्प सुरक्षा दिवस , भुकम्प प्रतिरोधी संरचना निर्माणमा जोड

राजेन्द्र कार्की 
जाजरकोट , विपदबाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानिय सरकार भन्ने मुल नाराका साथ जाजरकोटमा पनि २१ औ भुकम्प सुरक्षा दिवस मनाईएको छ । जिल्ला दैविप्रकोप समिति द्धारा गठित भुकम्प सुरक्षा दिवस जिल्ला समारोह समितिको आयोजनामा बुधवार भुकम्प सुरक्षा दिवस मनाईएको हो ।
ब्यानर, प्ले कार्ड सहित ठाँटी बजारबाट शुरु भएको र्यालीले बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको सभाहलमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । १९९० साल माघ २ गते गएको ८ दशमलब ४ रेक्टर स्केलको महाभुकम्पले ठुलो धनजनको क्षति भएको थियो । सोही दिनको सम्झनामा भुकम्प सुरक्षा सम्बन्धि जनचेतना जगाउने उद्देश्यले २०५५ साल माघ २ गतेबाट भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भुकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले भुकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सहसंयोजक ज्ञानीप्रसाद शर्माले हामीले निर्माण गरेका भौतिक संरचना कमजोर भए जोखिम बढ्ने भन्दै बलियो र भुकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रमको अध्यक्षता गरेका प्रमुख जिल्ला अधिकारीले नेपाल भुकम्पिय जोखिमको दृष्टिकोणले अन्यान्तै जोखिममा रहेकोले समयमै सचेतता अपनाउदा क्षति न्युनिकरण गर्न सकिने भएकोले भुकम्प प्रतिरोधी संरचना बनाउन आग्रह गरे । उनले विपदबाट नागरिक सुरक्षित हुन पाउने अधिकार भएकोले तीनै तहका सरकारले विपदबाट नागरिकलाई जोगाउन समयमै तदारुपता दिनु पर्नेमा जोड दिए । रेडक्रस जाजरकोटका मन्त्री हरिबहादुर बस्नेतले नेपाल भुकम्पिय जोखिमको दृष्टिकोणले विश्वमै ११ औ स्थानमा रहेकोले जोखिम न्युनिकरणका लागी समयमै आवश्यक जनशक्ति र राहत समाग्रीको ब्यवस्थापन गर्नु पर्ने बताए । त्यस्तै स्वास्थ्य संस्थाको क्षमताको विकास र गैरखाद्य सामग्रीको उचित प्रवन्ध गरि पुर्वतयारी गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष वीरबहादुर बस्नेत, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यामबहादुर थापा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा भुकम्प सम्बन्धी भिडियो डकुमेन्ट्री समेत देखाईएको थियो ।










