सिंगो गाउँ नै लालपुर्जाविहीन

डोल्पा:डोल्पाको एक गाउँ पुस्तौँदेखि लालपुर्जाविहीन छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ मा पर्ने फुल्चिङ गाउँ पुस्तौँदेखि लालपुर्जाविहीन भएको हो । बाबुबाजेकै पालादेखि सिंगो गाउँ अधियाँमै चलेको स्थानीय चन्द्रलाल चलाउनेले बताए । वर्षभरि लगाएको बालीनालीबाट अधियाँका रूपमा कुल उब्जनीको आधाभन्दा धेरै अनाज जग्गाधनीले लैजाने भएपछि जीविकोपार्जन गर्न धौ–धौ पर्ने गरेको उनको भनाइ छ । ‘जग्गाजमिन धेरै छ, तर आफ्नो नाममा छैन, सिंगो गाउँ नै अधियाँमा चलेको छ,’ उनले भने ।
फुल्चिङमा चन्द्रलालको जस्तै सिंगो गाउँमा कसैको पनि लालपुर्जा छैन । गाउँमा ६५ घरधुरी भए पनि २३ घरधुरीका परिवारको नाममा एक टुक्रा पनि जमिन छैन । बाँकीको नाममा पनि कसैको पनि आफ्नो नाममा सबै जग्गाको लालपुर्जा छैन ।‘खनजोत गरेर बालीनाली लगाउँछौँ, घरमा भित्र्याउने बेला जग्गाधनीहरू बोरा बोकेर आउँछन्, उब्जनीको आधाभन्दा धेरै अनाज लैजान्छन्,’ गाउँकी हिउँकली चलाउनेले पीडा पोखिन्, ‘हामीलाई त वर्षभरिमा ३ महिना पनि राम्रोसँग खान पुग्दैन ।’
दिऊँ भने आफूलाई खान नपुग्ने र नदिऊँ भने जग्गा आफ्नो नाममा नभएकाले बाध्य भएर आफू भोकै बसेर पनि वर्षभरि दुःख गरेर उब्जाएको अन्न दिनैपर्ने बाध्यता रहेको उनले सुनाइन् । फुल्चिङमा बस्ती बस्दादेखि नै सिंगो गाउँ आफ्नो नाममा जग्गाविहीन रहेको थियो । फुल्चिङ गाउँमा रहेको जग्गा फरक गाउँका ४ जनाकोे नाममा छ ।साबिकको लिकु गाविस र हालको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १० का मोतीप्रसाद पहाडी, रत्नप्रसाद पहाडी, नारायण गिरी र रविलाल खत्रीको नाममा यहाँको जगा ०५२ सालमा नापनक्सा भएको हो ।
पुस्तौँदेखि नै आफूहरूले जग्गा कमाउँदै आएको र जग्गाधनी पनि गाउँमा नबस्ने भएकाले अधियाँ बुझाउनुपर्ने बाध्यता रहेको स्थानीय लोकबहादुर चलाउने बताउँछन् । पुर्खाको पालामा देवता र राजनीतिक आडमा सिंगो गाउँको जग्गा नै आफ्नो नाममा गरेर आफूहरूलाई लिकु गाउँका ठालु जमिनदारहरूले अन्याय गरेको उनीहरूको भनाइ छ । न्यायका लागि बारम्बार सम्बन्धित निकायमा अनुनय गरे पनि सुनुवाइ नभएको फुल्चिङकै लालबहादुर चलाउनेले बताए ।
भूमिसम्बन्धी ऐन ०२१ को दफा २५ ले लगातार २० वर्षसम्म जग्गाधनीको जग्गा भोगचलन गरेमा स्वतः ५० प्रतिशत मोहीहक कायम रहने व्यवस्था रहेको छ । यसैको दफा २६ ९घ०को २ ले लगातार २० वर्षसम्म निरन्तर भोगचलन गर्ने व्यक्तिले आफूलाई मोहीहक कायम गराइपाऊँ भनी निवेदन दिएमा वा त्यस्तो अवस्था देखेमा सरकारले तोकेको अधिकारीले ७ नम्बर फाँटवारी र उपलब्धसम्मका प्रमाण र गाउँ मुचुल्काका आधारमा पनि जग्गाधनी र जग्गा कमाउँदै आएकाबीच मोहीहकअन्तर्गत ५० प्रतिशत हक कायम गरी बाँडफाड गरिने कानुनी व्यवस्था छ ।










