जनप्रतिनिधिकै घरमा महानगरले चलायो डोजर

पोखरा:पोखरा महानगरले जनप्रतिनिधिकै घरमा डोजर चलाएको छ । पोखरा महानगर–४ की वडासदस्य विष्णुमाया परियारले सार्वजनिक जग्गा मिचेर बनाएको घरमा महानगरले सोमबार डोजर लगाइएको हो । नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरी महानगरले डोजर लगाएर वडासदस्य परियारको बन्दै गरेको घर भत्काएको होे । उनले फिर्केखोला र स्काउट कास्कीको जग्गा हडपेर घर बनाइरहेकी थिइन् । आइतबार मात्रै उनको घरको पहिलो तलाको ढलान भएको थियो । तीन महिनाअघि जग बसाल्दादेखि नबनाउन खबरदारी गर्दा र निर्माण सामग्रीसमेत जफत गर्दा अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
मेयरसँग सल्लाह गरेरै घर बनाएकी हुँ परियार
वडासदस्य विष्णु परियारले भने महानगरका प्रमुख मानबहादुर जिसी र वडाध्यक्ष शंकरप्रसाद बाँस्तोलासँग सल्लाह गरेरै घर बनाएको दाबी गरेकी छिन् । उनले भनिन्, ‘मैले पटक–पटक मेयर र वडाध्यक्षलाई जानकारी गराएरै घर बनाएकी हुँ, अहिले कसको कुरा सुनेर घर भत्काएका हुन् रु मैले बुझ्न सकिनँ ।’
मेयर र वडाध्यक्षले सुनेनन् वडासदस्यको बिलौना
डोजर रोक्न वडासदस्य विष्णु परियारले भरमग्दुर प्रयास गरिन् । उनले डोजरको बकेटमा समेत बसेर भत्काउन रोक्न प्रयास गरिन् । तर, उनको यो सबै प्रयास काम लागेन । परियारले मेयरसँग कुरा गर्ने भन्दै फोन गरे पनि मेयरले फोन नै उठाएनन् । आफ्नै टिमबाट निर्वाचित वडा नम्बर ४ का अध्यक्ष शंकर बाँस्तोलाले समेत बेवास्ता गरे । वडाध्यक्ष बाँस्तोलाले खाना खाएर आउँछु भन्दै वडामै लिन पुगेका परियारका आफन्तलाई फर्काइदिएका थिए ।
आफूलाई मारेर शवमाथिबाट डोजर चलाउन चेतावनी दिएकी वडासदस्य परियारलाई नेपाल प्रहरीको महिला सदस्य र नगरपालिकाको महिला नगर प्रहरीले नियन्त्रणमा लिएका थिए । नेपाल स्काउटको जिल्ला कार्यालयले आफ्नो जग्गा मिचिएको भन्दै वडा कार्यालय, महानगरपालिका गुहारेको थियो । वडाध्यक्ष बाँस्तोलाले समेत घर नबनाउन आग्रह गर्दै आएका थिए ।










