टेन्डर नै नगरी खरिद गरिएको १८ लाखको बीउ अलपत्र

सञ्जय केसी
जाजरकोट ः गत बर्ष असिनाका कारण गहुँबालीको बीउ नै नष्ट भएपछि बारेकोट गाउँपालिकाले खरिद गरेको बीउ समेत रुकुममा अलपत्र परेको छ ।
किसानहरुले बीउको अभावमा समस्यामा परेपनि रु १८ लाखमा खरिद भएको बीउ रुकुमको चिसापानी स्थित एक होटलमा थन्किएको छ । गहुँ लगाउने मौसम बितेपछि अहिले सो गहुँको बीउको काम नभएको स्थानीय तीर्थराज बोहोराले बताउनुभयो । गाउँपालिकाले किसानको घरमा बीउ खरिद गरेर समयमै पुयाउने पर्ने भएपनि बाटोमै छाडेर अलपत्र पर्दा किसानहरु आफ्नै खेतबारी बाँझै राख्न बाध्य भएको उहाँको भनाई छ ।
गाउँपालिकाले २४० क्न्टिल गहुँको बीउ खरिद गरेको थियो । खरिद गरेको बीउ बाटोमै अलपत्र पारेर गाउँपालिकाको बजेट मात्र सक्ने काम भएको बोहोराले बताउनुभयो । गहुँको बीउ नहुँदा बारेकोटबासीहरुले दुइ दिन हिडेर छिमेकी गाउँपालिका र रुकुमबाट समेत ठिमाह बीउ खरिद गरेर केही खेतबारीमा लगाएको तर अधिकांश बाँझै रहेको उहाँको भनाई छ । बारेकोटका अधिकांश किसानहरु गहुँबाली लगाउँने गर्दछन् । गत बर्ष आएको असिना पानीका कारण गहुँबाली नष्ट हुँदा बीउ नै उठ्न सकेको थिएन् । सरकारले यहाँका स्थानीयलाई राहत दिने भनेपनि सो कुरामा मात्र समिति भएको थियो ।
स्थानीय सरकारले जनतालाई गहुँको बीउ उपल्ध गराउछु भनेर ठगेको स्थानीयबासीको गुनासो छ । जिल्लाको अत्यन्तै दुर्गम क्षेत्रमा पर्ने यो गाउँपालिका हिमाली भुभागमा पर्दछ । बारेकोट गाउँपालिका कृषि शाखा निर्मित प्रमुख रगबहादुर बपालले भन्नुभयो ‘ हामीले बीउ ढुवानी गर्ने खच्चड नपाउँदा तोकिएको समयमा बीउ बारेकोट लिन सकेनौँ , २४० क्न्टिल मध्य १०८ क्न्टिल बीउ लिएर किसानलाई उपलव्ध गराएका छौ भने बाँकी १३२ क्न्टिल रुकुमको चिसापानीमा रहेको छ ’ ।
उत्ता बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले भन्नुभयो ‘ बाटो अप्ठ्यारो , खच्च्डको समस्या र प्रशासनले हेलिकप्टर लिन अनुमती नदिदा बीउ रोकिएको बताउनुभयो । यो बीउ खरिद गर्दा टेन्डर गर्नुपर्ने भएपनि बारेकोट गाउँपालिकाले मापदण्ड मिचेर टेन्डर नगरी आफुखुसी बीउ खरिद गरेको खुलेको छ । १० लाख भन्दा माथीको रकममा टेन्डर गर्नुपर्ने भएपनि टेन्डर नै नगरी कर्मचारीले आफै बीउ खरिद गरेको खुलेको छ ।










