१२ वर्ष पछि पश्चिम जाजरकोट यातायातको पहुँचमा गतिलिदै

हेमन्त केसी रासस
काठमाण्डौँ ः बन तथा बातावरण मन्त्री शक्तिबहादुर बस्नेतले एक वर्ष अघि जाजरकोटमा चुनावी प्रचारप्रसारको क्रम्म भन्नुभएको थियो ‘ हामी जुम्लाको सिमाना संग जोडिएको कुशेगाउँपालिकामा एक वर्ष भित्र बस सञ्चालनमा ल्याउछौ’ ।
उहाँको यो उद्घोष एक बर्ष भित्र पुरा भएपछि जाजरकोट कुशेगाउँपालिका, छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकाका स्थानीयहरु खुसी भएका छन् । सडक निर्माण कार्य थालिएको १२ वर्ष पुग्दा सम्म बर्षेनी सडक खन्दै पुदै गर्दा बिकास नभएको भनि तिव्र आलोचना भएको बेला मन्त्री बस्नेतले पटक , पटक स्थलगत रुपमा अवलोकन गरि केन्द्रबाट पठाएको बजेट सदुपयोग र काममा निगरानी गरेपछि अहिले एक बर्ष भित्र यातायात सञ्चालनमा आएको कुशेगाउँपालिका – १ का वडा अध्यक्ष गोपाल नेपाली बताउनुभयो । एक हप्ता देखि जाजरकोट कुशेगाउँपालिकाको थर्पुमा बस सञ्चालनमा आएसंगै यहाँका स्थानीयहरु खुसी भएका छन् ।
जाजरकोट शिवालय गाउँपालिकाको छेडाचौरदेखि थलहबजार–ढुंगील–साँधीबिसाउना हुँदै कुशेगाउँपालिका – ६ थर्पु सम्मा सडक निर्माण गर्न थालिएको १२ वर्ष पछि बस सञ्चालनमा आएसंगै अब यहाँको जीवनस्तर माथी उठ्ने विश्वास लिएको नेपालीले बताउनुभयो ।
उत्पादन क्षेत्र, बाक्लो मानब बस्ती, पर्यटन क्षेत्र, ऐतिहासिक स्थललगायत स्थानसम्म छिटोभन्दा छिटो सडक पुर्याउने लक्ष्यअनुसार काम भइरहेको ले निरन्तर अनुगमण देखि गुणस्तर सम्मका काम हेरफेर भईरहेको सांसद गणेसप्रसाद सिंहले बताउनुभयो । कुशेगाउँपालिकामा सुन्तला तथा आलु उत्पादन, काइनाइट, टुर्मालिन पत्थर लगायत खनिज र सयौैं प्रकारका जडीबुटीको भण्डारका रुपमा चिनिन्छ ।
जुम्लाको सिमानासँग जोडिएको कुशे गाउँपालिकाको केन्द्र सडक सञ्जालमा जोडिएपछि स्थानीयले थाप्लोमा भारी बोकेर पैदल हिँड्नुपर्ने दिनको अन्त्य भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।
यहाँका स्थानीय तहले समृद्धिको पहिलो आधार सडक निर्माण र विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दा लक्ष्यमा पुग्न सफल भएको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले बताउनुभयो । २०६३ सालमा छेडागाडमा नेपाली सेनाले सडक निर्माण पुरा गरेपछि छेडाचौरदेखि थलहबजार–ढुंगील–साँधीबिसाउना हुँदै कुशेगाउँपालिकाको लागि सडक निर्माण सुरु गरिएको थियो । सडक निर्माण थालिएको १२ वर्ष पछि थर्पुमा सडक पुगि बस नै सञ्चालनमा आउँदा निकै खुसी भएको कुशे गाउँपालिका – ५ का रामवहादुर सिंहले बताउनुभयो ।
अब यातायात पुगेर मात्र नहुँने भएकाले स्थानीय उत्पादनलाई जोड दिई बजारीकरण गरिनुपर्ने उहाँले बताउनुभयो । सुन्तला जोनको कार्यक्रम समेत लागु भएको कुशेगाउँपालिकामा यातायात पुग्दा यहाँको आर्थिक संमृद्धीमा थप टेवा पुग्ने कुशे गाउँपालिका पैंकका अमृत गौतमले बताउनुभयो ।
गाउँपालिकाको टापुचौर, पैंकको छेरासम्म दैनिक जिप र ठूला गाडी सञ्चालनमा आएपछि स्थानीयलाई खाद्यान्न ढुवानी, यात्रामा समेत सहज भएको छ ।
कुशे गाउँपालिकालको प्रशासनिक केन्द्रसम्म यातायात सेवा पुगेपछि स्थानीयलाई सरकारी सेवा पाउन सहज भएको छ ।
कुशे गाउँपालिकाले गत आर्थिक वर्षमा करिब एक सय किलोमिटर सडक निर्माण भएको थियो भने चालु आर्थिक वर्षमा केही नयाँ सडक खन्ने र गत वर्ष खनेका सडकका पर्खाल तथा नाली, ग्राभेल, तारजालीलगायत स्तरोन्नतिको काम हुने बताएको छ ।
जुम्ला–जाजरकोट सडकलाई मुख्य आधार मानेर ग्रामीण सडक निर्माणको कामलाई तीव्रता दिए संगै अव जुम्ला सडक निर्माणले तिव्रता पाएको छ ।










