बाबुछोरालाई नै क्यान्सर

चितवन,
परिवार धान्ने बाबुछोरालाई नै क्यान्सर भएपछि चितवनको भरतपुर महानगरपालिका–१६ शरणपुरको खड्का परिवार विचल्लीमा परेको छ । दैनिकीको जोहो गर्ने मुख्य व्यक्ति नै बिरामी, त्यसमाथि उपचारका लागि चाहिने लाखौँ रुपैयाँ जोहो गर्ने चिन्तामा शिवबहादुर खड्काको परिवार छ ।

शिवबहादुर क्यान्सर भएको २ वर्ष नबित्दै २९ वर्षीय छोरा वसन्तबहादुर खड्कालाई समेत क्यान्सर भयो । शिवबहादुरलाई ०७३ मा फोक्सोको क्यान्सर भएको र अहिले नियमित औषधि उपचारमा मासिक ८ देखि १० हजारसम्म खर्च हुने गरेको छ ।

०७४ भदौमा वसन्तको ढाडमा सामान्य समस्या देखियो । चितवनको मेडिकल कलेजमा हर्नियाको अप्रेसन गरे, तर अप्रेसनले उनको रोग निको भएन । उनी थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा पुगे । नसासम्बन्धी समस्या भएको भनेपछि औषधि बोकेर निको हुने आशामा घर फर्किए । तर, निको नभएपछि उनको विश्वास आयुर्वेदिक चिकित्सातिर गयो । ‘२ महिनासम्म कोरियन फिजियो थेरापी गरियो, त्यसले पनि छोराको स्वास्थ्यमा कुनै सुधार भएन,’ शिवबहादुरले भने ।

बिरामी भए पनि शिवबहादुर सकिनसकी छोराको उपचारमा खटिने गरेका छन् । ‘छोराको उपचारको क्रममा झन्डै ४ लाख बढी रकम खर्च भयो, तर समस्या बीसको उन्नाइस भएन । शारीरिक रूपमा उनलाई झनै पीडा हुँदै गयो ।

फेरि काठमाडौंको ग्रान्डी अस्पतालमा देखाउँदा झन्डै १४ महिनापछि बल्ल क्यान्सर भएको पत्ता लाग्यो ।’ शिवबहादुरले भने । भारत जान चिकित्सकले सल्लाह दिए पनि पैसा अभावमा छोरालाई विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार थालेको उनले बताए ।

सहयोग अभियान
आर्थिक अभाव भएपछि स्थानीयले सहयोग संकलन अभियान सुरु गरेका छन् । क्यान्सरपीडित खड्कालाई स्थानीय आमा समूहले उपचारका लागि ७० हजार रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, स्थानीय युवा मिलन सुनारको सक्रियतामा चितवनका विभिन्न कलेजका शिक्षक र विद्यार्थीबाट ३५ हजार सहयोग जुटेको छ ।

उपचारका लागि आर्थिक अभाव
खड्का परिवार लगातार अस्पताल बस्नुपर्ने र औषधि उपचार गर्नुपर्ने हुनाले समस्या छ । वसन्तको उपचारमा हालसम्म ७ लाखभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ । वसन्तका बुवा शिवबहादुर भन्छन्, ‘२० देखि २१ लाख रुपैयाँ खर्च गर्न सके छोरो बाँच्ने थियो ।’ आर्थिक अभावले उपचारमा कठिनाइ भएको बताउँदै वसन्तकी पत्नी सुजनाले सहयोगको याचना गरिन् ।




सम्बन्धित समाचार


error: Content is protected !!