प्रेम प्रस्ताव नस्विकार्दा छुरा प्रहार

वीरगन्ज
प्रेम प्रस्ताव अस्वीकार गरेपछि एक किशोरीमाथि छुरा प्रहार भएको छ । पर्सागढी नगरपालिका–१ बागवानाकी शकुन्तला कुमारीमाथि सोही वडाको भटनीका जयकिशोर चौधरीले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट शकुन्तलाको शरीरका विभिन्न भागमा चोट लागेका छन् । उनको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
पर्सागढी–२ मा रहेको जनता उच्चमावि बढनिहारमा कक्षा ११ मा अध्ययनरत शकुन्तलामाथि सोमबार बिहान विद्यालय जाँदै गर्दा बाटैमा छुरा प्रहार भएको हो ।
जयकिशोरले राखेको प्रेम प्रस्ताव अस्वीकार गरेपछि शकुन्तलामाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जयकिशोरले शकुन्तलालाई पटक–पटक प्रेम प्रस्ताव स्वीकार गर्न दबाब दिएका थिए ।










