पूर्वगभर्नर रावलविरुद्ध भ्रष्टाचार मुद्दा, पोलिमर नोट छपाइमा भ्रष्टाचारको आरोप

काठमाडौं । पूर्वगभर्नर डा।तिलक रावलसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोटको छपाईमा भ्रष्टाचार गरेको अभियोगमा राष्ट्र बैंकका पूर्वगभर्नर रावलसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट दश रुपैयाँ दरका ५ करोड थान पोलिमर नोट छपाइ गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएकोलगायतका अभियोगमा मुद्दा दायर गरिएको हो ।

आयोगले बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने जस्ता कार्य भएको पाइएको जनाएको छ ।

अख्तियारको अनुसन्धानका क्रममा राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार हुने गरेको पाइएको छ ।

त्यस्तै छापिएका नोटका कमी कमजोरी सञ्चार माध्यममा नल्याउन सञ्चारकर्मीलाई नै थाइल्याण्ड हुदै अष्ट्रेलिया घुमाउने गरेको अख्तियारको दाबी छ ।

अख्तियारले तत्कालिन गभर्नर रावलसहित तत्कालिन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालय बहादुर पाँडेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । रावल हाल नेपाली काँग्रेसमा आबद्ध छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!