बलात्कारपछि हत्याका दोषीलाई ३२ वर्ष जेल

सुर्खेत,पञ्चपुरी नगरपालिका–३ चौर सुर्खेतकी गौरीकला रोकायाको बलात्कारपछि हत्याका दोषी तीन जना जिल्ला अदालतले ३२ वर्षको जेल सजाय सुनाएको छ। पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी दाजुभाइ लक्ष्मी बाँस्तोला, खुम बाँस्तोला र दैलख घर भई बाबियाचौर इलाका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत हरि कोइरालालाई अदालतले दोषी ठहर गरेको हो। उनीहरूलाई ३२ वर्षको जेल सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार अधिकृत भूपाल भण्डारीले जानकारी दिए। जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुवकुमार शाहीको एकल इजलासले उक्त फैसला सुनाएको हो। मृतकका हकवालाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने गरी अदालतद्वारा फैसला भएको जनाइएको छ। गौरीकलाको बलात्कारपछि हत्या भएको घटनामा तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा चैत्र १३ गते जाहेरी दर्ता भएको थियो भने २०७५ वैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भएको थियो। सूर्यप्रकाश मावि पञ्चपुरी– ४ सुर्खेत पलैटेबाट २०७४ चैत ८ गते माध्यमिक परीक्षा दिन रोकाया बाबियाचौर पुगेकी थिइन्।










