प्रहरी चौकी बनाउन स्थानीयवासीद्वारा जग्गा दान

दुनै डोल्पा, उपल्लो डोल्पाका प्रहरीचौकी निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका छन् । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने धो–तराप उपत्यकामा इलाकास्तरीय प्रहरी चौकी निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका हुन् ।

डोल्पो बुद्ध गाउँपालिका–३ को ताक्सीमा स्थानीयवासी पाल्जाङ लामाले ३३०५ वर्गमिटर र डोल्पो बुद्ध गाउँपालिका–१ का सोनाम टाक्पा गुरुङले धोमा रहेको ३३४० वर्गमिटर जग्गा अस्थायी प्रहरी चौकीको नाममा दान गरेका हुन् ।

प्रहरीलाई दान गरेको जग्गा धनी पूर्जा जग्गादाताले जिल्ला सुरक्षा समितिलाई हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।

समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित धो तरापमा चौकी निर्माणका लागि स्थानीय सरकारको पहलमा स्थानीयवासीले जग्गा प्रदान गरेका हुन् । भवन नहुँदा प्रहरी नबस्ने भएकाले दिन प्रतिदिन चोरीका घटना बड्नुका साथै स्थानीयवासीले सुरक्षाको अनुभूति गर्न नपाएको जग्गादाता पाल्जाङ लामाले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारले प्रहरीचौकी निर्माणका लागि रु दुई करोड विनियोजन गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले यस आर्थिक वर्षभित्रै धो मा प्रहरीको लागि अत्याधुनिक भवन निर्माण गर्ने गरी रु दुई करोड बजेट विनियोजन गरिसकेको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो । चौकी निर्माणपछि तिब्बतसँगको सीमा सुरक्षामा पनि सहयोग पुग्ने उहाँको भनाइ छ ।
–––





error: Content is protected !!