सरकारी वकिलको सम्मेलन पुसमा

काठमाडौँ, सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन आगामी पुस ८ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ ।
सरकारी वकिलमा देखिएका समस्या तथा चुनौतीबारे छलफल गर्न सम्मेलन आयोजना गरिन लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले जानकारी गराउनुभयो । ‘वैज्ञानिक र वस्तुनिष्ट अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने नाराका साथ शुरु हुने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुनेछ ।
उहाँले सम्मेलनमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता र फौजदारी कसुर ऐनलगायतका नयाँ कानूनको कार्यान्वयनका विषयमा साझा धारणा समेत बनाइने बताउनुभयो । “भदौदेखि लागू गरिएको मुलुकी अपराध संहितालगायत अन्य कानूनको बारेमा समष्टिगत हिसाबले छलफल गर्नका लागि सम्मेलन राखिएको हो”, उहाँले भन्नुभयो, “सम्मेलनले सरकारी मुद्दालाई सफल बनाउने समेत अपेक्षा गरिएको छ ।”
उहाँले सरकारी वकिलले साविति बयानका आधारमा मात्र नभएर वैज्ञानिक र वस्तुनिष्ट प्रमाण सङ्कलन गरेर अभियोजन लगाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको नयाँ मुलुकी संहिता कानूनको कार्यान्वयनमा केही समस्या देखिए पनि त्यसलाई समाधान गर्दै लगिएको जानकारी दिनुभयो । महान्यायाविक्ता खरेलले अपराध संहिताले कार्यबोध बढेकाले थप जनशक्ति थपि सरकारी वकिलको व्यावसायिक विकास गरिने बताउनुभयो ।
महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता पद्यमप्रसाद पाण्डेयले सरकारी वकिलले के गर्दैछन् भनेर जनतालाई जानकारी दिन सम्मेलन आयोजना गरिएको बताउनुभयो । उहाँले महान्यायाधिवक्ताको कार्यालय र मातहतका सबै कार्यालयका समस्या पहिल्याउँदै संस्थागत सुधारको मार्ग पहिचान गर्न सघाउ पुग्नेमा जोड दिनुभयो ।
महान्यायाधिवक्ता कार्यालयको व्यवस्थापनमा हुने सो सम्मेलनमा महान्यायाधिवक्ता, नायब महान्यायाधिवक्ता, २३ सहन्यायाधिवक्ता, १२६ उपन्यायाधिवक्ता र २३० शाखा अधिकृत सहभागी हँुदैछन् । सम्मेलनमा पाँच समूहमा सरकारी वकिललाई विभाजन गरी २१ विभिन्न विषयका कार्यपत्रमाथि छलफल गरिने बताइएको छ ।
यसैगरी सोही अवसरमा राजश्वसम्बन्धी विशिष्टिकृत प्राप्त गर्नुभएका १३ सरकारी वकिललाई महान्यायाधिवक्ता खरेलले प्रमाणपत्र वितरण गर्नुभएको थियो । संवैधानिक कानूनको स्रोतसम्बन्धी पुस्तकसमेत विमोचन गरिएको छ । पुस्तकमा सैवैधानिक कानूनबारे विभिन्न लेख रचना छन् ।










