पुल पुनर्निर्माणका लागि प्रदेश सरकारलाई गुहार्दै जनप्रतिनिधि

सञ्जय के सी
जाजरकोट,
बाढीले भत्काएका पुल पुनर्निर्माणका लागि बजेट माग्दै त्रिवेणी नलगाड नगरपालिकाका जनप्रतिनिधि कर्णाली प्रदेश सरकारलाई गुहार्न पुगेका छन् । मेयर टेकबहादुर रावलसहितको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सरकारका मन्त्रालय धाइरहेका छन् ।
गत साउनमा आएको बाढीपहिरोका कारण नलगाडको छेप्का–कालीमटीस्थित झुर्मेखोलाको पुल बगाएपछि यहाँका जनप्रतिनिधि पुल निर्माणका लागि बजेट माग्न कर्णाली प्रदेश सरकारलाई गुहार्न पुगेका हुन् । अहिले झुर्मेखोलामा अस्थायी काठको लाप्को ९फलेक०मा स्थानीयवासी वारपार गर्छन् । काठको लाप्कोबाट यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको छ । बाढीबाट जिल्लाको सबैभन्दा बढी नलगाड नगरपालिकामा नै क्षति भएको थियो ।
पुल निर्माणका लागि आवश्यक बजेट नहुँदा प्रदेश सरकारसँग बजेट माग गरिएको नगरपालिका मेयर रावलले बताए । नगरपालिकाभित्र आधा दर्जन बढी पुल बाढीका कारण क्षति भएपछि नगरपालिकाले आफ्नै खर्चमा निर्माण गर्न असम्भव भएकाले प्रदेश सरकारसँग सहयोग मागेको उनले बताए ।
पुल नहुँदा विद्यालय जाने बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । बजेटकै लागि केन्द्रीय सरकारसँग पनि आग्रह गर्ने नगरपालिकाका प्रशासकीय प्रमुख सुरेन्द्र सिंहले बताए । नलगाडमा भएको क्षतिको पुनर्निर्माण गर्न करोडौँ बजेट लाग्ने भएकाले थोरै बजेटले सम्भव नभएको नगरप्रमुख रावलले बताए । नलगाडका सबै वडामा बाढीपहिरोका कारण व्यापक क्षति भएको थियो ।








