चिसोे छल्न घाम खोज्दै खुला ठाउँमा पठनपाठन

सिमकोट, मंसिर दोस्रो सातादेखि अत्याधिक मात्रामा बढेको चिसोका कारण हुम्लाका सात वटै गाउँपालिकामा रहेका विद्यालयको पठनपाठन प्रभावित भएको छ। जिल्लामा रहेका केही विद्यालयमा वार्षिक परीक्षामा सञ्चालन भइसकेका छन् भने केही विद्यालयमा जाडोका कारण कक्षाकोठा छाडेर घाम लाग्ने खुला ठाउँमा पठनपाठन भइरहेको छ। खार्पुनाथ गाउँपालिकाले वार्षिक परीक्षा सञ्चालन मंसिर २६ देखि गर्न निर्देशन दिए पनि मानमानधार माविले त्यसअघि नै परीक्षा सञ्चालन गरिरहेको छ।चिसो बढेकाले परिक्षा दिन विद्यार्थीलाई कठिन भएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताए। उनका अनुसार चिसोका कारण विद्यार्थीहरुलाई लेख्न र बस्न समस्या भएको छ। चिसो बढेकाले गाउँपालिकाले तोकेकोभन्दा अघि नै परीक्षा सञ्चालन गर्न बाध्य भएको उनको प्रष्टाए। मंसिर सुरु भएसँगै चिसो पनि बढेकाले जनजीवन प्रभावित भएको चंखेली गाउँपालिका–५ का वडाध्यक्ष भैरव तामाङले बताए। ‘बिहान बेलुका ठिहियाउने चिसो छ,’ उनले भने, ‘गाउँमा बिहान ११ बजे मात्रै घाम लाग्छ। चिसोले केटाकेटी बुढाबुढीका साथै चौपाया जोगाउन समस्या छ।’ अत्याधिक चिसो बढेपछि विद्यार्थीहरु ११ बजेपछि मात्रै विद्यालय आउने गरेको डाँफे निम्न माध्यमिक विद्यालयका शिक्षक धनसिंह बुढाथोकीले बताए। ११ बजेभन्दा अघि घाम नलाग्ने भएकाले विद्यार्थीहरु चिसोले विद्यालय आउन समेत गाह्रो हुने गरेको शिक्षक बुढाथोकीको भनाइ छ।

 

चिसोका कारण सर्केगार्ड गाउँपालिका–३ स्थित लाली गुँरास माध्यमिक विद्यालयमा घाम लाग्ने खुला पठनपाठन हुँदै आएको छ। कोठाभित्र चिसोले पढ्न गाह्रो भएकाले घामा लाग्ने खुला ठाउँमा पढ्दै आएको कक्षा ८ का विद्यार्थी बालकृष्ण फडेराको बताए। विद्यालयमा सात वटा भवन छन्। तर, कोठाभित्र घाम नलाग्ने र चिसो हुने भएकाले कात्तिकदेखि नै कक्षा कोठाभन्दा बाहिर पठनपाठन थालेको विद्यालयका प्रधानाध्यापक काली महताराले बताए।

जिल्लाको उत्तरी क्षेत्रमा अवस्थ्ति नाम्खा गाउँपालिका–६ हल्जी जाङ, तिल गाउँका विद्यालयमा परीक्षा सकेर शिक्षकहरु फर्किसकेका छन्। सरकारी तथा गैरसरकारी संघसंस्थाका केही कर्मचारी पनि चिसो छल्न जिल्लाबाहिर जान थालेका छन्। कार्यक्षेत्रमा रहेका केही कर्मचारीले भने एक भारी दाउराको एक हजार रुपैयाँसम्म मूल्य तिर्न बाध्य भएको गुनासो गरे। थाहा साभार





error: Content is protected !!