क्षमता भन्दा बढी यात्रु बोक्ने जीप सञ्चालनमा रोक

रुकुम पश्चिम,
रुकुम पश्चिममा क्षमता भन्दा बढी यात्रु बोक्ने जीप संचालनमा रोक लगाईएको छ । ५ सिटको क्षमता भएको जीपमा ७ गुणा भन्दा बढी यात्रु बोकेको पाइएपछि जीप संचालनमा रोक लगाईएको छ । यातायात व्यवस्था कार्यालयबाट ५ सिटको अनुमति लिएका जीपहरुले नियम विपरित १२ वटा सिट राखेर निकै बढी यात्रु बोक्ने गरेका छन् ।
सिट क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम रहेको र दुर्घटना भइहालेमा सबै यात्रुले क्षतिपुर्ति नपाउने अवस्था रहेकाले रोक लगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताए । जिल्ला भरी संचालनमा रहेका एउटा पनि जीप नियम संगत नरहेको खड्काले बताए । ५ सिटको अनुमति लिएर बढी यात्रु बोक्ने करिब ५५ वटा जीप बन्द गरिएको डिएसपी खड्काले जानकारी दिए ।
आइतबारदेखि जिल्लामा जीप बन्द छन् । कानूनी दायरामा नआउञ्जेल सम्म जीप संचालन हुन नदिने प्रहरीले जनाएको छ । ‘अनुमति लिने बेलामा ५ सिटको लिने, अनि १२ वटा सिट राखेर अनुमति भन्दा बढी यात्रु बोक्ने, यो त सरासर कानून विपरित हो,’ डिएसपी खड्काले भने, ‘कुनै दुर्घटना भइहाले ५ जना भन्दा बढीको क्षतिपुर्ति कसले व्यहोर्छ, यहि अवस्थामा जीप चल्न पाउँदैनन् ।’
एक महिना अगाडि देखि नै नियममा आउन जीप व्यवसायीहरुलाई सेचत गराउँदै आएपनि अटेरी भएपछि बाध्य भएर जीप बन्द गराएको उनको भनाई छ ।
आफैले गरेको निर्णय मानेनन् व्यवसायीले
गत २८ असोजमा जिल्लाका यातायात व्यवसायी सम्मिलित जिल्ला यातायात व्यवस्थापन समितिको बैठक बसेको थियो । उक्त बैठकमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली २०७४ अनुसार जिल्लामा यातायातका साधन संचालन गर्ने निर्णय भएको थियो ।
ऐन र नियमावलीमा सिट क्षमता भन्दा बढी यात्रु बोकेमा कारबाही हुने उल्लेख गरिएको र नियम अनुसार नगएमा प्रहरी प्रशासन लगाएर यातायातका साधन बन्द गर्ने सहमति अनुसार नियम विपरित संचालनमा रहेका जीप बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिए । निर्णय कार्यान्वयन नगरेसम्म जीप संचालन हुन नदिने उनले बताए ।








