प्रथम चौमासिकमा विकास प्रगती शुन्य

सुकमाया थापा
डोल्पा ः डोल्पाका सबै स्थानीय तहहरुमा प्रथम चौमासिक समय भित्र विकासको काम शुन्य रहेको पाईएको छ । सबै स्थानीय तहहरुको विकास खर्च शुन्य रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय डोल्पाले जनाएको छ ।

कोलेनिका डोल्पाका अनुसार जिल्लाका ८ वटै स्थानीय तहहरुमा जानु पर्ने विभिन्न बजेटहरु निकासा समेत जान नसकेको बताएको छ । चालु आर्थिक वर्ष २०७५÷०७६ को प्रथम चौमासिक सकिएपनि विकास खर्च शुन्य हुँदा पहिलो चौमासिक त्यतिकै समय खर्चेको सरोकारवाला बताउँछन् । दोस्रो चौमासिकको एक महिना वित्न लागिसक्दा पनि पूँजिगत बजेट निकासा सम्म हुन नसकेकाले प्रगति हुन नसकेको हो ।

जिल्लाका सबै स्थानीय तहहरुमा चालु खर्च ( प्रशासनिक खर्च) बजेट मात्र निकासा गएको कोलेनिका डोल्पाका निमित्त कार्यालय प्रमुख उदय जिसिले बताउनु भयो । उहाँका अनुसार ठुलीभेरी नगरपालिकामा ५ करोड ७५ लाख ५० हजार, त्रिपुरासुन्दरी नगरपालिकामा ५ करोड ७९ लाख ५० हजार, काइके गाउँपालिकामा २ करोड ६४लाख ७५ हजार, छार्का ताङ्गसोङ गाउँपालिकामा २ करोड १३ लाख २५ हजार, जगदुल्ला गाउँपालिकामा २ करोड ९९ लाख ५० हजार, डोल्पो बुद्ध गाउँपालिकामा २ करोड ४ लाख मुड्के चुला गाउँपालिकामा ३ करोड ५५ लाख २५ हजार र शे फोक्शुण्डो गाउँपालिकामा २ करोड ५३ लाख ७५ हजार बजेट निकासा भएको छ ।

विकास बजेट निकासा नहुँदा विकासका धेरै कामहरु गर्न कठिनाई भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुको तलव भत्ता निकासा दिने र चालु खर्चको बजेटले कार्यालयीय रुपमा आवश्यक पर्ने सरसामान किन्नु वाहेक अन्य कुनै पनि काम गर्न नसकिएको मुड्केचुला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताए । उहाँले थप्नु भयो , प्रगति नहुनुमा बैंकिङ समस्या, वैदेशिक सहयोगका साथै प्रक्रियाका समस्याले पनि ढिलो भएको हो ।
साथै विविध तर्फ ठुलीभेरी नगरपालीकामा ९ लाख ९३ हजार २८ सय ३७ पैसा, त्रिपुरासुन्दरी नगरपालीकामा १० लाख ३५ हजार ३९ सय ३४ रुपैया ५२ पैसा, काइके गाउँपालीकामा ६ लाख ४५ हजार ६८ सय ३ रुपैया ६७ पैसा, छार्का ताङसोङ गाउँपालीकामा ६ लाख ४५ हजार ६८ सय ३ रुपैया ६७ पैसा, जगदुल्ला गाउँपालीकामा ६ लाख ४५ हजार ६८ सय ३ रुपैया ६७ पैसा, डोल्पो बुद्ध गाउँपालीकामा ६ लाख ४५ हजार ६८ सय ३ रुपैया ६७ पैसा, मुड्केचुला गाउँपालीकामा ६ लाख ७२ हजार ३५ सय ७७ रुपैया २८ पैसा र शे फोक्शुण्डो गाउँपालीकामा ६ लाख ९८ हजार ३८ सय १६ रुपैया ६० पैसा गरी जम्मा ५ करोड ८९ लाख १५ हजार ७१ रुपैया ४५ पैसा निकासा भएको र यो भन्दा अरु कुनै पनि निकासा नगएको कोष तथा लेखा नियन्त्रण कार्यलय डोल्पाका निमित्त कार्यालय प्रमुख जिसिले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार स्थानीय तहहरुको पूँजीगत बजेटमा धेरै भाग बैदेशिक सहयोग भएकाले त्यसको फुकुवा नआउनु, स्थानीय तहहरुले गत वर्षको प्रगति विवरण पेस गर्न ढिलाई हुनु, स्थानीय तहहरुमा स्थापना भएका बैंकहरुको कारोवार ढिलो हुनु लगायतका विविध समस्याका कारण पूँजिगत बजेट निकासा हुनु मै समस्या भएको हो ।





error: Content is protected !!