पर्यटन प्रवर्द्धनले जगाएको आशा

डोल्पा – विश्व परिचित प्राकृतिक सम्पदा भएरपनि सधै विकटता र गरिबीले पिल्सिदै आएका फोक्सुण्डोबासीलाई भर्खरै सम्पन्न पर्यटन प्रवर्द्धन कार्यक्रमले आफ्नो परिचय बदल्न सहयोग पुग्ने आशा जगाएको छ।

राज्यको उदासीनताका कारण फोक्सुण्डोे विकासमा उपेक्षित बन्दै आइरहेको बेला राज्यका प्रमुखहरूको उपस्थितीमा सुन्दर पर्यटकीय भुस्वर्ग फोक्सुण्डो ताल परिसरमै पर्यटन विकासको प्रचारात्मक कार्यक्रम गरेर राज्यले प्रतिबद्दता जनाएपछि आफ्नो क्षेत्रको विकासमा सहयोग पुग्ने फोक्सुण्डोबासीले बताएका छन्।

शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष धावा सुम्डुक गुरुङ्गले आफूहरूसँग सुनको सिरानी भएरपनि भौतिक पूर्वाधार विकासको अभावमा दूर्गमता र विकटताबीच अभावै अभावको जीवनशैलीमा बाँचिरहेको बताए। पहिलो पटक कर्णाली प्रदेश पर्यटन उद्योग वन तथा वातावरण मन्त्रालयले डोल्पाको पर्यटन प्रवर्द्धनका लागि प्रचारात्मक कार्यक्रम फोक्सुण्डो तालपरिसरमा गरेर विकासको संकेत दिन खोजेको उनको भनाई छ।

फोक्सुण्डो ताल र यस क्षेत्रको पर्यटन विकासको लागि सुलिगाड हुँदै फोक्सुण्डो गाउँसम्म दोहोरो घोडा चढ्न मिल्ने बाटोको निमार्ण, संचारको व्यवस्था, फोक्सुण्डो क्षेत्रमा १५ शौयाको अस्पतालको निर्माण,छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको १४ नं क्याटो खुङलापास नाका खुला गरिनुपर्ने साल्दाङ्ग, फोक्सुण्डो तालसँगै रहेको रिग्मोबस्ती र भिजेरमा साना जलविद्युतको निमार्ण गरिएमा आफूहरूको जीवनशैलीमा परिवर्तन हुने उपाध्यक्ष गुरुङ्गले बताए। वडा नम्बर ८ का अध्यक्ष निमा लामाले फोक्सुण्डो तालमा आउने बिदेशी तथा स्वदेशी पाउनाहरुको बसोबास गर्नको ताल नजिकको रिग्मो गाउँमा व्यवस्थित होटलको व्यवस्था भईरहेको बताए।

विदेशीहरू वर्षेनी ३–४ हजारको संख्यामा आउने गरेपनि काठमाडौंबाटै गाइड सहित भरियामार्फत ट्रेकिङ्ग एजेन्सीहरूले गास बासको ब्यवस्था गरी पठाउने गरिएकाले स्थानीयको आम्दानी नभइ तालको फोहोर संकलन गर्ने बाहेक अरु काम नभएको उनको भनाई छ। फोक्सुण्डो क्षेत्रमा घुम्न आउने विदेशी पाहुनाको लागि व्यवस्थित बास क्याम्पिङ्ग साइटको व्यवस्था र दैनिक उपभोग्य सामाग्रीको व्यवस्थापन तालपरिसरको गाउँमै उपलब्ध रहेकोले फोक्सुण्डो ताल हेर्न आउने पर्यटकहरुलाई भरिया बिनानै फोक्सुण्डो आउन आग्रह गर्छन।

फोक्सुण्डोमा पुगेकी पूर्व शान्तिमन्त्री तथा संघिय सांसद सत्य पहाडीले नागरिकको एक प्रश्नमा भौगोलिक बिकटताले विकासलाई नरोक्ने बताइन। भर्खरै फोक्सुण्डो ताल परिसरमा भएको पर्यटन प्रवर्द्धननार्थ प्रचारात्मक कार्यले डोल्पाको पर्यटकीय सम्भावनालाई उजागर गर्न र संचार माध्यमबाट फोक्सुण्डोको महिमा महत्व एवं सुन्दरतालाई विश्वजगतमा प्रचार प्रसार गर्न सहयोग पुग्ने पहाडीको भनाई छ।

पर्यटन क्षेत्रको सुन्दरता संरक्षण संवर्द्धन विकास र समृद्धिको लागि आफू सदैब लागि रहेकोले अवको केही वर्षपछि फोक्सुण्डो ताल लगायत श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिर र शे–गुम्बालाई पर्यटन क्षेत्रको हबको रुपमा विकास गरिँदै लैजाने पहाडीको भनाई छ।





error: Content is protected !!