टिप्दैन फोनले नेटवर्क, नगरप्रमुख नै पुग्छन् अग्लो डाँडामा

जाजरकोट, छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतारा फोन गर्न कार्यालय मनघाटबाट एक घण्टा दूरिमा पर्ने डाँडामा जान्छन्। नगरप्रमुख मात्र होइन अधिकांश जनप्रतिनिधि र सर्वसाधारण यसरी डाँडामा पुगे फोन गर्छन्। यो उनीहरूको रहर नभई बाध्यता हो। कार्यालयमा टेलिफोन नलाग्ने भएकोले फोन सम्पर्कका लागि अग्लो डाँडामा जानुपर्ने अवस्था रहेको नगरप्रमुख महतारा बताउँछन्। ुबजारमा टेलिफोनले काम गर्दैन। डाँडामा पुगेपछि मात्र नेटवर्क आउँछु, उनले भने। कार्यालयमा टेलिफोन नलाग्ने समस्याले नगरको कामकाज प्रभावित भएको छ। टेलिफोन सेवा बिस्तारको लागि सम्बन्धित निकायमा बारम्बार ताकेता गर्दा पनि सुनुवाइ नभएको महताराले बताए। नेपाल टेलिकमले जाजरकोटको सबै ठाउँमा टेलिफोन सेवा पुगेको दाबी गरे पनि पश्चिमी क्षेत्रको अधिकांश ठाउँका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित छन्। गाउँमा टेलिफोन सुविधा नहुदा स्थानीयले समस्या भोग्नुपरेको छ। सञ्चार सुविधाको अभावमा बिरामी उपचार, आपतकालीन उद्धार, टाढा रहेका आफन्तहरुसँगको सम्पर्क कठिन भएको शिवालय १ मोर्क बजारका पूर्णबहादुर महताराले बताए। जिल्लाको पश्चिमी क्षेत्रको शिवालय गाउँपालिकाको मोर्क र बालुवाबजार , छेडागाड नगरपालिकाको खारा, मनाघाट र थलबजार र कुशेगाउँपालिकाको बाटुले बजार लगायतका स्थानमा सञ्चार सुविधा छैन। ती ठाउँका स्थानीयले एक कल फोन गर्न नगरप्रमुख जस्तै अग्ला डाँडा र जंगलका रुखमा चढ्नु पर्ने बाध्यता छ। छिटो छरितो सम्पर्क र सारो गारोमा कामका लागि फोन सम्पर्क नहुदा हैरानी बेहोर्नु परेको छेडागाड नगरपालिका १ का राम शाहीले बताए। पश्चिमी क्षेत्रका मुख्य बजारका टेलिफोने सुविधा नहुँदा ती ठाउँको आर्थिक कारोबार समेत प्रभावित भएको छ। टेलिफोन सेवाकालागि माग गरे पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ। चुनावमा भोट माग्न आउने नेतादेखि जितेका जनप्रतिनिधिसँग समस्या राखे पनि समाधान नभएको मनाघाटका स्थानीय प्रेमबहादुर केसीले बताए।








