पढाई ‘डिग्री’ पास, पेसा कुखुरा पालक

बेलबारी,
स्नातककोत्तर( डिग्री) पास गरेका बेलबारी सुन्दरहरैचा, ७ का अमित खड्का कुखुरा पालनमा व्यस्त हुँदै आएका छन् । पढाई पूरा गरेपछि राम्रो जागिर खानु पर्छ भन्ने मान्यातालाई पछि राख्दै उनले कुखुरा पालन गर्दै आएका हुन् ।
कुखुरा पालनबाट मासिक खर्च कटाएर दुई लाखभन्दा बढी आम्दानी हुने गरेको खड्का बताउछन् । उनले एक बिघा जग्गामा टहरा बनाएर अण्डा उत्पादन गर्ने कुखुरा पालन गर्दै आएका हुन् । उत्पादित अण्डा धरान, इटहरी, इनरुवा बिराटनगर लगायत बजारमा निर्यात हुँदै आएको उनले बताए ।
मेहनतअनुसार नेपालमा राम्रो कमाई भएको बताउने खड्का विदेश जानुभन्दा नेपालमा नै केही गर्नु पर्ने बताउछन् । उनी भन्छन्, ‘विदेशमा गए पनि मासिक लाख रुपैयाँ मात्रै त कमाउथे होला, अहिले नेपालमै बसेर राम्रो कमाइ गरेको छु ।’
कुखुरा कराउदा पनि पैसा फलेको जस्तो लाग्ने खड्काले बताए । उनी सुनाउछन्, ‘पहिला ‘डिग्री’ पास गरेर कुखुरा पालन गर्दा कसैले केही भन्छ कि जस्तो लाग्थ्यो, अहिले पहिलेको जस्तो महसुस हुँदैन ।’








