गाउँमै नागरिकता दिने भएपछि सेवाग्राहीको चाप

रुकुम पश्चिम,
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका स्थानीयले गाउँमै नागरिकता पाएका छन् । नगरपालिकाको व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले गाउँमा गएर नागरिकता वितरण गरेको हो । प्रशासनले बुधबार र बिहीबार करिब साढे ४ सय जनालाई नागरिकता वितरण गरेको हो ।
नगरपालिकाको कार्यालयमा घुम्ती शिविर आयोजना गरी नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । गाउँमा पुगेर नागरिकता वितरण गर्ने गृहमन्त्रालयको योजनाअनुसार चौरजहारीमा पुगेर नागरिकता वितरण गरिएको उनले बताए ।
शिविरबाट नागरिकता वितरणका साथै मतदाता नामावली दर्ताको सुविधासहित घरेलु तथा साना उद्योग विकास समितिले दर्ता र नवीकरणको सेवा दिएको छ ।
नागरिकता लिनेको लर्को
जिल्ला प्रशासनले बुधबार मात्रै नागरिकता दिने शिविर आयोजना गरिए पनि स्थानीयको चाप बढेपछि बिहीबार पनि संचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सेवाग्राहीको चाप बढेपछि निरन्तरता दिनु परेको रेग्मीले बताए ।
‘सुरुमा एक दिन शिविर आयोजना गर्ने योजना गरेका थियौँ,’ रेग्मीले भने, ‘नागरिकता लिनेको चाप बढेपछि बिहीबार पनि शिविर जारी राखेका हौँ ।’ गाउँमा नै नागरिकता पाउने भएपछि धेरै मानिस आएकाले शिविर दुई दिनसम्म जारी गरेको हो ।
शिविरमा जेष्ठ नागरिकसमेत नागरिकता लिन आएका छन् । नागरिकता बिना भत्ता नपाइने भएपछि उनीहरुले नागरिकता लिने गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
बुधबार र बिहिबार चौरजहारीमा नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयले अन्य स्थानीय तहमा पनि शिविर आयोजना गर्ने जनाएको छ । नागरिकता लिन छुटेकालाई लक्षित गरी शिविर आयोजना गरिरहेको कार्यालयले बताएको छ ।








