वातावरणीय चुनौती र समस्या समाधान गरिनुपर्ने’

काठमाडौ ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरणीय चुनौती र समस्या समाधान गर्दै देश विकास र समृद्धिमा लाग्नुपर्ने बताउनुभएको छ ।ऊर्जा र वातावरणका लागि राष्ट्रिय महिला सञ्जाल नेपालले ललितपुरमा आयोजना गरेको ‘हरियाली वातावरण कोष र लैङ्गिक समानता’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मानवीय आवश्यकता पूरा गर्ने क्रममा विभिन्न प्रकारका वातावरणीय परिवर्तनलाई चुनौतीका रुपमा मात्र नलिई सफलताका रुपमा हेर्नुपर्नेमा जोड दिनुभयो ।
समाजका सबै क्षेत्रका मानिसलाई जलवायु परिवर्तनसम्बन्धी छलफल, नीति निर्माण तथा योजनामा समावेश गरी सहभागितामूलक बनाउनुपर्नेमा उहाँको जोड थियो । मन्त्री बस्नेतले जलवायु परिवर्तनसम्बन्धी तीनै तहका सरकारको आफ्ना क्षेत्राधिकारभित्र रही जनचेतना, सजगता तथा लगाव हुनुपर्ने बताउनुभयो ।
सिप्रेड नेपालका कार्यकारी निर्देशक डा पासाङ डोल्मा शेर्पाले जलवायु तथा अन्य विभिन्न प्रकारका वातावरणीय प्रदूषण रोक्न लैङ्गिक समानता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले वातावरणसम्बन्धी रणनीति तर्जुमा गर्दा महिला मैत्री बनाउनुपर्नेमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष उत्तरा नेपालले अव्यवस्थित रुपमा वनजङ्गल फँडानी, भू–क्षय, प्लानिङ, पुराना सवारीसाधन, कलकारखानाबाट निस्कने धुवाँधुलो नै वातावरण प्रदूषणको मूख्य कारण भएको बताउनुभयो ।










