कर्णालीका गोही र डल्फिन , हुर्काउने नेपाल, फुर्किने भारत

घाघरा ब्यारेज, भारत । हरेक वर्ष नेपालले गोही र डल्फिनका बच्चा हुर्काएर कर्णाली नदीमा छाड्दै आए पनि संख्या वृद्धि हुनुभन्दा घट्दो क्रममा रहेको पाइएको छ । सरकारले लोप हुने अवस्थामा पुगेका दुबै प्रजातिको संरक्षणमा महŒवका साथ काम गरिरहेको दाबी गर्दैै आएको छ ।

नेपालले हरेक वर्ष नदीमा छाड्ने तर संख्या बढ्नुको सट्टा घट्दो क्रममा हुनुको मुख्य कारण भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा घाघरा ब्यारेज रहेको पाइएको छ । हरेक वर्ष दुई महिना नेपालबाट बगेर गएको कर्णाली नदीमा ब्यारेज सफा गर्न भन्दै सम्पूर्ण ढोका खोलिने गरेको पाइएको छ ।

मनसुनको समयमा नेपालतर्फ छाडिएका डल्फिन र गोही बग्दै जाने र ब्यारेजका कारण थुनिएको ठाउँमा रमाएर बस्ने गरेको पाइएको छ । मनसुन सकिएलगत्तै ब्यारेजका सबै ढाका खोल्ने गरिएकाले पानीसँगै सबै जीवन ब्यारेजभन्दा तल पुग्ने गरेको विश्व वन्यजन्तु कोष भारतका निर्देशक ताविर हुसेनले बताए ।

‘नेपालले कर्णाली नदीमा गोही र डल्फिनका बच्चा हुर्काएर हरेक मनसुनको सुरुमै छाड्ने गरेको सुनिँदै आएको छ,’ निर्देशक हुसेनले भने, ‘तिनीहरूसँगै जलचर प्राणीहरू मनसुनको समयमा बगाउँदै ब्यारेजसम्म आउने गरेको हामीले पाएका छौं ।’
मनसुनको समयमा ब्यारेजमा थुनिएको पानीमा डल्फिन र गोही प्रशस्तै देखिने गरेको उनले जानकारी दिए । भारतको कतर्नियाघाट वाइल्ड लाइफ सेन्चुरी भएर बग्ने घाघरा नदीलाई नेपालतर्फ कर्णाली नदीका रूपमा चिनिने गरिन्छ । कर्णालीबाट घाघरामा पुग्नेबित्तिकै उनीहरूको अस्तित्व नै संकटमा पर्ने गरेको पाइएको छ ।

हरेक वर्ष मनसुन सकिएपछि ब्यारेज सफा गर्न भन्दै भारतले ब्यारेजका सबै ढोका खोल्ने गरेको छ । हरेक वर्ष ब्यारेज खुल्दा ब्यारेज आसपासमा देखिएका डल्फिन र गोही पनि ब्यारेजभन्दा तल पुग्ने गरेको सेन्चुरीका फरेस्टर मोहम्मद अस्फाकले जानकारी दिए ।

‘ब्यारेजभन्दा माथि प्रशस्तै देखिएका गोही र डल्फिन ब्यारेज सफा गरेर बन्द गर्दा देखिँदैनन्,’ उनले भने, ‘मनसुनको समयमा भने पुनः उत्तिकै मात्रामा डल्फिन र गोही देखिने गरेका छन् ।’

नेपालले हरेक वर्ष छाडेका गोही र डल्फिन नै त्यहाँ देखिएका हुन् भन्ने प्रश्नमा भने उनी त्यस्तो नभएको बताउँछन् । भारत सरकारले डल्फिन र गोहीको संख्याको विषयमा कुनै अध्ययन नगरेको उनी बताउँछन् ।

१० किलोमिटरभन्दा माथिसम्म फैलने घाघरा नदी सफा गर्ने समयमा सुख्खा हुने गरेको छ । अहिले पनि घाँघरा नदीमा पानी थुनिएको छैन । एक महिनाअघिदेखि ब्यारेजका सबै ढोका खुला गरेर सफा गर्ने र रंगरोगन गर्ने काम भइरहेको छ ।

घाघरा नदीमा हुने जीवहरूलाई संकटमा पार्ने गरी सबै ढोका खुला छाड्दा समस्या उत्पन्न भएको छ । नेपालतर्फ बर्दिया राष्ट्रिय निकुञ्जको अगुवाइमा गोही र डल्फिन नदीमा छाड्ने गरिँदै आएको छ । निकुञ्जको सहायक संरक्षण अधिकृत अशोक भण्डारीका अनुसार कर्णालीका सबै गोही र डल्फिन मनसुनको समयमा छाडिने गरेको छ ।

‘कर्णाली नदीमा छाडिएका डल्फिन र गोही मनसुनको समयमा बगाउँदा घाघरा ब्यारेजसम्म पुग्ने गरेका छन्,’ संरक्षण अधिकृत भण्डारीले भने, ‘यसरी छाडिएका जीव पुनः मनसुनपछि बिस्तारै माथितिर आउने समयमा नै भारतले ब्यारेज खोलिदिने गरेकाले सबै बगेर ब्यारेजभन्दा तलसम्म पुग्छन् ।’

बगेर ब्यारेजभन्दा तल पुगेको गोही र डल्फिन ब्यारेज थुनिँदा माथि फर्कन नसक्ने गरेको उनले बताए । नेपालले हुर्काएका जलचर प्राणीलाई भारतले बन्द गरेर राख्ने गर्दा कर्णालीमा संख्या बढ्न नसकेको हुन सक्ने उनको दाबी छ । नेपाल र भारतले नदीको गोही र डल्फिन संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरेर ब्यारेज पूर्ण रूपमा नखोल्ने व्यवस्था गरिनुपर्ने सुझाव सरोकारवालाहरूले बताएका छन् ।





error: Content is protected !!