स्थानीय तहमा शिक्षाका कर्मचारी नजाँदा काममा बाधा

सुकमाया थापा
डोल्पा  – स्थानीय तह निर्वाचन भएको डेढ वर्ष वितिसक्दा पनि स्थानीय तहको पूर्ण अधिकार भित्र पर्ने माध्यमिक शिक्षासम्म हेर्नु पर्ने स्थानीय तहहरुमा शिक्षाका कर्मचारी नपठाइदा शिक्षाका काममा निकै समस्या परेको छ ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डेढ वर्ष अघि गठन भएका स्थानीय तहहरुमा शिक्षाका कर्मचारीहरु नपठाउंदा शिक्षाका सम्पूर्ण काम लथालिङ्ग भएको ठुलीभेरी नगरपालिका जुफाल डोल्पाले जनाएको छ ।
नेपालको संविधान २०७२ ले माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण जिम्मेवारी तथा अधिकार क्षेत्र स्थानीय तहको हुने सुनिश्चित गरेको छ । त्यस व्यवस्था बमोजिम स्थानीय तह भित्रका विद्यालयहरुको शैक्षिक, भौतिक तथा आर्थिक व्यवस्थाका लागि स्थानीय तहमा शिक्षाका कर्मचारी हुनु पर्ने अनिवार्य जस्तै हुन्छ ।
स्थानीय तह भित्र सबैभन्दा नभै नहुने र दिर्घकालिन प्रभाव पार्ने शिक्षा नै हो । त्यस कारण शिक्षालाई प्रभावकारी बनाउन, शैक्षिक गुणस्तर बढाउनका लागि अपनाउनु पर्ने विभिन्न योजनाहरु निर्माण गर्ने र ती योजनाहरुको कार्यान्वयनका लागि कर्मचारीहरुको आवश्यकता पर्दछ । कर्मचारी नभए पछि कसरी काम गर्ने के हामी जनप्रतिनिधिहरुले आफै गर्ने ? ठुलीभेरी नगरपालिका शिक्षा विभाग हेर्दै आएका विरमल भण्डारीले प्रति प्रश्न गरे ।
शिक्षाका कर्मचारीहरु नभए पछि स्थानीय तहहरुलाई यही मंसिर महिनामा संचालन गर्नु पर्ने स्थानीय तह स्तरिय कक्षा ८ को परीक्षा संचालन गर्न र सबै विद्यालयहरुमा संचालन हुने अन्य कक्षाका परीक्षाको निरिक्षण तथा अनुगमन समेत गर्न नसकिने अवस्था रहेको त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले जनाएको छ ।
नेपाल सरकारले व्यवस्था गरे अनुसार नगरपालिकामा १ उपसचिव, १ विद्यालय निरिक्षक, १ प्राविधिक सहायक र गाउंपालिकाहरुमा १ विद्यालय निरिक्षक र १ जना प्राविधिक सहायकको दरवन्दी रहने व्यवस्था गरेको छ । तर ७ वटा स्थानीय तहहरुमा शिक्षाका कर्मचारी शुन्य रहेका छन् भने शिक्षाका कर्मचारीका नाममा मुड्केचुला गाउंपालिकामा मात्र १ जना प्राविधिक सहायक रहेको शिक्ष्ाँ विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुख सिंहराज डांगीले बताए । उनले थपे सबै स्थानीय तहले शिक्षा विकास तथा समन्वय इकाइमा गुनासो गर्न आउने गरेको, आफूले शिक्ष्ाँ विभाग र शिक्ष्ाँ मन्त्रालयसंग माग गरेको भए पनि कर्मचारी आएका छैनन् ।
सम्बन्धित क्षेत्रका कर्मचारी नहुंदा भौतिक पूर्वाधार विकास, निरिक्षण अनुगमन लगायत अन्य काम गर्नु त कता हो कता शिक्षकहरुलाई तलव भत्ता खुवाउन र शिक्षाका कामहरु के के छन् भनेर जानकारी सम्म लिन नसकिएको जगदुल्ला गाउंपालिकाका अध्यक्ष नारसिंह रोकायाले बताए ।
शिक्षाका थुप्रै कार्यक्रमहरु छन् । नेपाल सरकारले शिक्षाका कर्मचारी नपठाउंदा ती सबै कार्यक्रमहरु प्रभावित भएका छन् । कामै भएको छैन । सबै काम ठप्प छन् । कस्ले गरिदिने, शिक्षाका समस्याहरु समाधानका कुरा त परै जाओस् कार्यक्रमहरु अगाडि बढाउने नै कसरी भन्ने भेउ नमिलेको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताए ।





error: Content is protected !!