पूर्वाधार विकास साझेदारी कार्यक्रम , अधिकांश रकम सडकमा

सुर्खेत — कर्णाली प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट सडक निर्माणमा खर्चिने भएका छन् । कार्यक्रमअन्तर्गत अधिकांश योजना कार्यकर्ताको दबाब थेग्न नसक्दा टुक्रे बनाइएको छ ।

सडक निर्माणमै कार्यकर्ताको जोड भएकाले करिब ६० प्रतिशत रकम सडककै योजनामा विनियोजन गरिएको छ ।

सल्यानमा कार्यक्रमको दुई करोड ४० लाख रुपैयाँ सडकमा बिनियोजन गरिएको छ । अन्य भौतिक पूर्वाधार निर्माणमा ६० लाख, सिँचाइमा ४५ लाख, खानेपानीमा ४५ लाख र तटबन्धमा १० लाख रुपैयाँ विनियोजन गरिएको निर्देशक समितिले जनाएको छ ।

कपुरकोट–कोइला–खर्सुबास लाहाघाट हुँदै देवस्थल–थर्कोट–कपुरकोटसम्म दुई सय ३० किलोमिटर जिल्ला पर्यटकीय रिङरोड जोड्ने योजनासहित यस वर्ष ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै राप्ती लोकमार्गको चाक्लीघाट–कुमाख–जिमाली–रागेचौर– चौरजहारी जोड्न ५० लाख, कपुरकोट–दमारखोला– झुल्नेटा–सिमलकुना हुँदै दाङको हलवार जोड्न ३० लाख र बाग्चौर–लामीडाँडा–पुखात–फारुला जोड्न २० लाख रुपैयाँ विनियोजन गरिएको छ । कार्यकर्ताको माग थेग्न नसक्दा धेरै योजनामा रकम खर्चिएको सांसदको भनाइ छ ।

भौतिक पूर्वाधारअन्तर्गत अधिकांश योजना १० देखि २० लाखसम्मका छन् । प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेतले सबै योजना स्थानीयको मागका आधारमा राखिएको बताए । ‘म पर्यटकीय रिङरोडको नयाँ कन्सेप्टमा भएकाले धेरै रकम त्यही योजनामा विनियोजन गरेको छु,’ उनले भने, ‘सडक नै विकासको मेरुदण्ड भएकाले प्राथमिकता दिइएको हो ।’

उनले १० वटै स्थानीय तहमा बाह्रै महिना गाडी सञ्चालन गर्ने गरी सडकको स्तरवृद्धि गर्न जरुरी रहेको बताए । जिल्लाको पर्यटकीय रिङरोडको काम पाँच वर्षमा सक्ने लक्ष्य रहेको उनको भनाइ छ । उनले आफ्नो कार्यकालभित्र रिङरोड पूरा गर्नसके त्यसैलाई ठूलो उपलव्धिको रुपमा लिने बताए । सबै रकम त्यही रकममा विनियोजन गर्न खोजे पनि सहमति नहुँदा विभिन्न योजना समावेश गरिएको बस्नेतको भनाइ छ ।

बस्नेतका अनुसार अन्य भौतिक पूर्वाधारमा ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । सरस्वती माविको भवन निर्माणमा २० लाख, मावि पाखापानीका लागि १५ लाख, लक्ष्मी मावि जयचौरको भवनमा १५ लाख
र कोटबारा निमाविका लागि १० लाख रकमविनियोजन गरिएको छ ।

त्यस्तै छायाँक्षेत्र–गरिज्युला सिँचाइ, स्विकोट–रातामाटा–सिरवार सिँचाइ र चाँदे–हात्तीजुर–फलाटे सिँचाइका लागि १५र१५ लाख रकम विनियोजन गरिएको छ । सिदुरे खानेपानीमा २० लाख, काभ्रा–रामबजार खानेपानीमा १५ लाख र बाँझकाडाको काजीका बगर सिमलटारी बाँध सिँचाइका लागि १० लाख रुपैयाँ विनियोजन गरेको बस्नेतले जनाए ।

डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पर्यटन संस्कृति तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले ६ मोटरबाटो निर्माणका योजनामा दुई करोड ८० लाख रुपैयाँ विनियोजन गरेका छन् ।
बुढाले सिँचाइ योजना निर्माणका दुईवटा योजनामा ४५ लाख, घोडेटो तथा पदमार्ग निर्माणका तीन योजनामा ४० लाख, मन्दिर तथा गुम्बा निर्माणका तीन योजनामा ३५ लाख रकम विनियोजन गरेका छन् ।
निर्देशक समिति सदस्य एवं प्रदेशसभा सदस्य वीरबहादुर शाहीले योजना छनोट गर्ने क्रममा आफूहरूबाट राय नलिइएको बताएका छन् । उनले आफूलाई खबर गर्नुअघि नै समितिले योजनामा रकम बाँडफाँट गरिसकेको बताए । राज्यमन्त्री बुढाले भने सबैलाई चित्तबुझ्दो तरिकाले बजेट विनियोजन गरिएको दाबी गरे ।

उनले त्रिपुराकोट–गल्ली–रल्ली–रुम हुँदै सुलिगाडसम्मको सडकमा ५० लाख, पातिहाल्न–एयरपोर्ट–पाहाडा सडकमा ५० लाख, छल–पातिहाल्न–त्रिपुराकोट सडकमा ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । त्यस्तै फाल–तिन्बे सडकका लागि ५० लाख, उम्बा पहिरा–मुडेचुला सडकमा ५० लाख र पातिहाल्न–लाडे–एयरपोर्ट सडकका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । उनले अधिकांश योजनामा १० लाख रकम विनियोजन गरेका छन् ।

बुढाको कार्यक्रमबाट रह गाउँ–फरक गुम्बा मुगारा हुँदै परिलासम्मको पदमार्गका लागि २० लाख, छाङ्लाघर छानादेखि महादेव खोला हुँदै हिमचुली हिमालसम्मको पदमार्गका लागि १० लाख र रेझिदेखि फोक्सुण्डोसम्मका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै लैनीदेखि खानीगाउँ सिँचाइका लागि ३५ लाख, गापचौर सिँचाइका लागि १० लाख, बिडिथान मन्दिरका लागि १५ लाख र बुडाल मष्टा मन्दिरका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । १४ योजना समाबेश गरेका बुढाले धालुङ गुम्बा निर्माणमा १० लाख रुपैयाँ विनियोजन गरेका छन् ।

मुगुमा चालु आर्थिक वर्षको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतको चार करोड बजेट पूर्वाधार विकासमा खर्च गर्न थालिएको छ । विगतमा साना योजनामा संसद् विकास कोषको बजेट खर्च गर्दै आएको भए पनि यो वर्ष विशेष आवश्यकतालाई मध्यनजर गरी टुक्रे योजना कटौती गरिएको छ ।

कार्यक्रममार्फत कालाकाँडा–चिमाढुंग्री सडक निर्माणमा ९९ लाख, सोरु गाउँपालिकाको सिप बेलिब्रिज निर्माणमा एक करोड, गमगढीमा बसपार्क निर्माणमा ६० लाख र गमगढी तिब्बत सडकमा १ करोड ३७ लाख बजेट विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य गोपालबहादुर बमले बताए ।

उनका अनुसार बाँकी चार लाख रुपैयाँ जिल्ला समन्वय समितिको प्रशासनिक खर्चमा छुट्याइएको छ । उपभोक्ता समिति गठन गरेर निर्माण कार्य अघि बढाइने सांसद बमले बताए । यस वर्षको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट उपलब्धिमूलक हुने स्थानीयको भनाइ छ । सांसदले कार्यक्रमको बजेट जनताको आवश्यकतालाई मध्यनजर गरी विनियोजन गरेको ग्रामीण सामुदायिक विकास केन्द्रका निर्देशक जर्मन नेपालीले बताए ।

सिटी हल बनाइने
कार्यक्रमअन्तर्गत रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा सिटी हल बनाइने भएको छ । प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले चालु आर्थिक वर्षको कार्यक्रमको सबै बजेट सिटीहलमा विनियोजन गरेका छन् ।
‘मुसीकोट सदरमुकाम पनि हो, राम्रो, व्यवस्थित र ठूलो हल छैन,’ शर्माले भने, ‘त्यसैले यस वर्षको पूर्वाधार क्षेत्र विकासको बजेटले पाँच सय क्षमताको हल र पार्क बनाउने गरी कार्यक्रम तय भएको छ ।’ मुसीकोट नगरपालिका–५ स्थित सहिद स्मृति प्रतिष्ठानको जग्गा उक्त कार्यका लागि प्रयोग गरिनेछ ।

इन्जिनियर पहलबहादुर पुन नेतृत्वको प्राविधिकको टोलीले आवश्यक स्टिमेट तयारीको काम गरिरहेको जनाएको छ । इन्जिनियर पुनले जग्गाको कम्पाउन्ड वाल, हल, सहिद स्तम्भ र सानो भवन निर्माणका लागि आवश्यक काम भइरहेको बताए । हलको साथै व्यवस्थित पार्क र जिल्लाका सहिदहरूको नाम ठेगानासहितको स्तम्भ पनि बन्ने इन्जिनियर पुनले जनाए ।





error: Content is protected !!