डडेल्धुरा बस दुर्घटना अपडेट ः १८ जनाको मृत्यु, २६ जना घाइते

करन ताम्राकार, रासस अमरगढी(डडेल्धुरा )मंसिर ०७, डडेल्धुरा
डडेल्धुरामा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन । बस उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा डा. केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहिबार बेलुकी ५ः४० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा १३ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलले जानकारी दिए ।
डोटीको शिखर नगरपालिकाको बानिडुग्रेसइनस्थित पिस जोन एकेडेमीको बस से१क २९३ नम्बरको बस रडुवा खोलामा सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डम्बर बहादुर केसीले बताए ।
हाल उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १३ जनाको उपचार भइरहेको छ भने १४ जनालाई रेफर गरिएको छ । दुई जनालाई भने डिस्चार्ज गरिएको छ । गम्भीर घाइतेको संख्या बढी रहेकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ । उद्दारकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सहयोग रहेको थियो ।










