कर्णाली विकास आयोग गठन गरिने

सुर्खेत,
कर्णालीको विकासका लागि योजना बनाउन विकास आयोग गठन गरिने भएको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश, २०७५ स्वीकृत गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश, २०७५’ स्वीकृत गरेसँगै आयोग गठनको बाटो खुलेको आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । आयोगमा राज्यमन्त्रीसरह सुविधा पाउने गरी एक उपाध्यक्ष र दुई सदस्य सरकारले नियुक्त गर्नेछ ।

त्यसमा प्रदेश सरकारका प्रमुख सचिव पदेन सदस्य रहनेछन् भने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।

त्यस्तै, सोमबारको मन्त्रिपरिषद्ले बैठकले ‘कर्णाली प्रदेश कानुन आयोग गठनसम्बन्धी आदेश २०७५’ पनि स्वीकृत गरेको छ । सातसदस्यीय कानुन आयोगमा उच्च अदालतको न्यायाधीशसरह सुविधा पाउने गरी एक अध्यक्ष र दुई सदस्य प्रदेश सरकारले नियुक्त गर्ने व्यवस्था गरिएको छ ।

यसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, मुख्य न्यायाधिवक्ता पदेन सदस्य रहनेछन् भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन महाशाखा प्रमुख सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशभित्रका कर्णाली प्रदेश अस्पताल, जिल्ला अस्पताल तथा आयुर्वेदिक औषधालयको व्यवस्थापन समिति गठन आदेश, २०७५ स्वीकृत गरेको आन्तरिक मामिला तथा योजनामन्त्री ज्वालाले बताए । अस्पताल विकास समिति सात सदस्यीय हुने व्यवस्था गरिएको छ ।

कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि कर्णाली पर्यटन वर्ष–२०७५ अन्तर्गत शे–फोक्सुन्डोमा ११ र १२ मंसिरमा हुने महोत्सवका लागि उपराष्ट्रपतिलाई आमन्त्रण गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!