त्रिभुवन विमानस्थलको कालोपत्रे ५० वर्षपछि फेरिँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५० वर्ष पुरानो धावनमार्गको कालोपत्रे विस्थापन गर्दै नयाँ निर्माणको जिम्मेवारी चाइना यूरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । धावनमार्गको कालोपत्रे विस्थापनका लागि आह्वान भएको ग्लोबल टेन्डरबाट ५ कम्पनी प्राविधिक छनोटमा परेका थिए । धावनमार्गको ५० वर्ष पुरानो कालोपत्रे विस्थापन गरी नयाँ राखेपश्चात विमानस्थललाई २४ सै घन्टा सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको योजना छ ।
पुरानो कालोपत्रेका कारण पटक–पटक भत्किँदा समस्या हुँदै आएको थियो । अब नयाँ कालोपत्रे राखेपछि समस्या हट्ने अपेक्षा गरिएको छ । प्राधिकरण र ठेक्का पाएको चिनियाँ कम्पनीबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । “आगामी चैत १८ देखि कम्पनीले काम थाल्ने र जेठ १५ सम्म सक्नेछ,” नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने । कालोपत्रे राख्नको लागि कम्पनीलाई भ्याटबाहेक ३ अर्ब ७५ करोड रुपैयाँमा निर्माणको जिम्मा दिएको महानिर्देशक गौतमले जानकारी दिए । विमानस्थलले दुई वर्ष अगाडि टेन्डर गरे पनि हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
विमानस्थलको धावनमार्ग पुरानो र कमसल खालको हुँदा ठूला जहाजहरूको उडान(अवतरणमा समस्या हुँदै आएको थियो । धावनमार्ग ३ हजार ५० मिटर लामो छ । जसको ट्याक्सीमार्ग र धावनमार्ग दुवैमा नयाँ कालोपत्रे गरिने छ । प्राधिकरणले सन् २०१४ देखि विमानस्थल सुधार कोष बनाउँदै प्रत्येक हवाई यात्रुमार्फत १ हजार बढी उठाउँदै आएको छ । सोही कोषको रकम खर्च गरेर विमानस्थलको सुधार कार्य गर्दै आएको छ । “सोही कोषको रकमबाट नयाँ कालोपत्रे राखिने हो,” गौतमले भने । हालसम्म उक्त कोषमा ७ अर्ब रुपैयाँभन्दा जम्मा भइसकेको छ । कोषको रकम विमानस्थल सुधारको लागिमात्र खर्च गर्ने प्राधिकरणको लक्ष्य छ ।
विमानस्थल १० घन्टा बन्द हुने
कालोपत्रे विस्थापनको अवधिभर विमानस्थल १० घन्टा बन्द हुने भएको छ । निर्माण कम्पनीले ४९ दिनमा सम्पन्न गर्ने भने पनि प्राधिकरणले भने ७० दिनसम्मको समय दिएको छ । निर्माणको समयमा विहान ८ बजेदेखि बेलुका १० बजेसम्ममात्रै विमानस्थल सञ्चालन हुने गौतमले जानकारी दिए ।
हाल २१ घन्टा सञ्चालनमा रहेको विमानस्थल १४ घन्टामात्रै सञ्चालन हुने छ । दैनिक ८० मिटरभन्दा बढी निर्माण हुने गौतमले बताए । विमानस्थल कार्यालयले रातको समयमामात्र कालोपत्रे निर्माणको योजना बनाएको छ । धावनमार्गमा ३० देखि ५३ सेन्टीमिटरसम्म बाक्लो कालोपत्रे गरिने छ । कालोपत्र गर्ने काम पूरा भएपछि २० वर्षसम्म वाइडबडी जहाज उडान तथा अवतरण गराउन कुनै समस्या नहुने दावी गौतमको छ ।
हवाई इन्धनको ट्यांकी भूमिगत
नेपाल आयल निगमले हवाई इन्धन भन्डारण गर्ने ट्यांकीलाई भूमिगत गर्ने भएको छ । हाल जमिनमाथि र विमानस्थलको नजिकै रहेकोले सम्भावित दुर्घटना टार्नको लागि निगमले ट्यांकीलाई भूमिगत गर्ने भएको हो । एउटा ट्यांकी भूमिगत गर्नको लागि २० करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । जसअन्तर्गत ६ वटा ट्यांकीलाई भूमिगत हुनेछन् । यसबाट विमानस्थलमा ट्यांकर विस्थापन गरिने भएको छ । ट्यांकीबाट सिधै पाइपमार्फत जहाजसम्म तेल राख्न सकिनेछ ।










