गाउँमै साबुन उद्योग

रुकुम , पश्चिमको आठबीसकोट नगरपालिका –११

सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ। स्थानीय पाँचजना युवाहरुको लगानीमा ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालिमार्फत साबुन उद्योग सञ्चालन गरिएको हो। यहाँको स्थानीय वनमा साबुन उत्पादन गर्न प्रमुख कच्चापदाथ चिउरी प्रशस्तै पाइने र साबुनको बजारको सम्भावना पनि राम्रो देखिएकाले यसतर्फ लागेको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले बताए।
पहिलो चरणमा करिब दुई हजार साबुन उत्पादन गरिएको उनको भनाइ छ। उत्पादित साबुनलाई बजारसम्म पठाउन साबुनको कभर छाप्ने काम भइरहेको कम्पनीले जनाएको छ। परीक्षणका लागि कतिपयले बिनाकभर लिएको साबुन प्रयोगपछि राम्रो भएको प्रतिक्रिया जनाएका छन्। छाला चम्किलो बनाउने र चायाँपोतो हटाउने यसको विशेषता हो। प्रतिसाबुन ५० रुपैयाँ रहेको यसको नाम ‘चिउरी हर्बल साबुन’ राखिएको कम्पनीका सहनिर्देशक वीरबहादुरले बताए।
अहिलेलाई १५ लाख रुपैयाँको लगानीमा साबुन उत्पादन गर्न सुरु गरिएको यस कम्पनीमा स्थानीय प्रेमवीर कामी, वीरबहादुर कामी, नवीना कामी, जयमती कामी र रत्ने कामीले गरेका छन्। पाँच जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेको यस उद्योगबाट उत्पादित साबुनलाई यस जिल्लाको साथै छिमेकी जिल्ला जाजरकोट र डोल्पासम्म पुर्याउने लक्ष्य रहेको कम्पनीका निर्देशक प्रेमवीर कामीले जानकारी दिए।
बाहिरबाट आउने साबुनलाई भन्दा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न नगरपालिकाले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए। अहिले नुहाउने साबुन मात्र उत्पादन गरिए पनि उद्योगबाट विस्तारै कपडा धुने साबुन पनि उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
उद्योग प्रवद्र्धनका लागि यस आर्थिक वर्षमा नगरपालिकाबाट पनि सहयोग प्रदान गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए। यस्ता उद्योगहरु सञ्चालनका लागि नगरपालिकाले लघु उद्यम प्रवद्र्धन कोषमार्फत लगानी गर्नका लागि बजेटको व्यवस्था गरेको उनको भनाइ छ। स्थानीयस्तरमै उद्योगमार्फत आम्दानीका स्रोत बढाउन नगरपालिकाले पनि कार्यक्रम सञ्चालन गरेको छ।










