शैक्षिक अध्ययनको रोजाई लडेदह

हुम्ला, हुम्लाको सिमकोट गाउँपालिकामा अवस्थित लडेदह शैक्षिक अध्ययनको रोजाई बन्न थालेको छ । जिल्लाका तालको बारेमा केही प्रचार प्रसार हुन थालेपछि शैक्षिक अध्ययनका लागि लडेदह रोज्न थालेका छन । सिमकोट गाउँपालिकाको उत्तरमा अवस्थित लडेदहमा जिल्लाका मानसरोवर माध्यामिक विद्यालय, बालमन्दिर विद्यालयले शैक्षिक भम्रणमा लडेदह रोज्ने गरेका छन । शैक्षिक रोजाई मात्रै नभई आन्तरिक तथा बाह्य पर्यटकहरु १ दिन पैदल यात्रामा घुम्न जाने गरेको पाइन्छ । लडेदहमा दिनहुँ जसो भम्रण र जनकारी लिन लडेदह पुग्ने गरेका छन । शैक्षिक अध्ययन र मनोरम दृश्यावलोकनको लागि लडेदह प्रचलित रहेको छ । केही वर्ष पहिला लडेदह जाने पर्यटकको संख्या न्युन रहेपनि यो वर्ष अत्याधिक पर्यटकहरुको आगमन बढेको छ । सार्वजनिक बिदामा प्रकृतिप्रति रमाउनका लागि अधिकंश कर्मचारी र पर्यटकको रोजाईको रुपमा बन्दै गएको छ ।
६ घण्टा पछि पुगिन्छ लडेदह
सदरमुकाम सिमकोटबाट ६ घण्टा उकालो छिचोलेपछि लडेदह पुग्न सकिन्छ । लडेदह यात्रा गर्न सहज बाटो निर्माण भएको भएपनि दह पुग्नको लागि मनोरम दृश्यले गर्दा पर्यटकलाई थकाइको महसुस नहुने गरेको मानसरोवर माध्यामिक विद्यालयका शिक्षक शिव शर्मा पौडयालले बताए । रमाइलो दृश्यवलोकन हुने यो मार्गमा प्रशस्त सम्भावना लुकेका छन । जडीबुटी त्यहाँ अनौठा फुल, सुन्दर फुल अर्को आर्कषणको मुख्य केन्द्रबिन्दु रहेको उनको भनाई छ । लडेदह आसपासमा कटुकी, जटामासी, मासिजडा, बाजरी, सुगन्धवाल जस्ता बहुमूल्य जडिबुटीको भण्डारण स्थलको रुपमा यस स्थललाई मान्न सकिन्छ । सिमकोट गाउँपालिकाको उत्तरमा अवस्थित ४ हजार ३ सय मिटर उचाईमा रहेको छ । सिमकोट गाउँपालिकाले यस लडेदहको संरक्षण सम्वृद्र्धन गर्न सके गाउँपालिकाका आम्दानीको श्रोत बन्ने देखिएको छ ।
घुम्न उपयुक्त समय
लडेदह र हिमश्रृखालको मनोराम दृश्य हेर्नको लागि वैशाख महिनाको सुरुदेखि जेठ महिनाको अन्त सम्म राम्रो समय हो । लडेदह नजिकबाट हिमाल सेताम्य भएको दृश्यवलोकन गर्न सकिन्छ । भने यो समय बढी चिसो खप्नु पर्ने हुन्छ ।
असारदेखि साउनको दोस्रो हप्ता सम्म अत्याधिक वर्षको कारणले तालमा पानीको बहाव धेरै भएपनि नजिकै रहेका हिमालका दृश्यवलोकनमा हुस्सु र कुहिरोले छोप्ने गर्दछ । हिमतालको दृश्य, हिमालको दृश्य, बाटोमा पाइने बोटविरुवा लगायत मनोरम दृश्यको अवलोकनको लागि अति नै राम्रो समय मानिएको छ ।
तालको आसपासको क्षेत्रमा केही बढी नै हावाहुरी चल्ने हुनाले चिसोको महशुस हुने गर्दछ भने केही तल होचो भागमा रहेको दुधेदह आसपासमा क्याम्पिङ्ग गरी बस्नको लागि अति नै राम्रो हुने सम्भावना रहेको छ
हिमतालको मुहान भएका बग्ने हिमनदी, हिमनदीले ठाउँ ठाउँमा सिर्जना गरेको छहरा अति नै सुन्दर देख्न पाइन्छ ।
बाटोका दायाँ बायाँ रहेका हिम श्रृंखला सदाबहार सेतै दन्तले मुस्कुराएर पर्यटकलाई हाँसेर स्वागत गरे जस्तो लाग्ने गर्दछ । ठाउँ ठाउँमा जुमा, चौंरी र गाईवस्तुका खर्क अर्को आकर्षण हो । वनैभरी चरेर स्वतन्त्र पशुवस्तुको आवाज, लगाईएका घण्टी अति नै सुन्दर धुनको गुञ्जाहटले भने अति नै संगीतमय बनाउने गर्दछ ।










