चार दिने भ्रमणका लागि राष्ट्रपति भण्डारी कतार प्रस्थान

काठमाडौं,
राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने भ्रमणका लागि कतारको दोहा प्रस्थान गरेकी छिन्। बिहान साढे ११ बजे उनी कतार प्रस्थान गरेकी उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायतले बिदाइ गरेका थिए।
कतारका अमिर शेख तमिम विन हमान अल थानीको निमन्त्रणामा भण्डारी त्यसतर्फ लागेकी हुन्। दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
राष्ट्रपति भण्डारीले कतारका समकक्षी अमिरसँग १३ कात्तिकमा दोहामा द्धिपक्षीय भेटवार्ता गर्ने तय भएको छ । औपचारिक वार्तापछि भण्डारी र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा कतारका अमिरले राजकीय भोज आयोजना गर्ने भएका छन् । भेटवार्तामा राष्ट्रपति भण्डारीले दोहामा नेपाली कामदारका समस्याबारे चासो राख्ने गरि एजेन्डा तयार भइरहेको परराष्ट्रस्रोतले जनाएको छ ।










