डोल्पामा राहाप गुम्बाको स्तुपासहित ४२ थान मूर्ति चोरी

त्रिपुराकोट डोल्पा,
उपल्लो डोल्पामा प्राचिन गुम्बाहरुबाट मूर्ति तस्करीको श्रृङखला अझै रोकिएको छैन् । शे–फोक्सुन्डो गाँउपालिका वडा नं ४ नाम्दो गाँउको राहाप गुम्बाबाट ६ असोजमा एक थान स्तुपासहित ४२ थान मूर्ति चोरी भएको वडा अध्यक्ष पेमा वाङ्छेन गुरुङले बताए ।
‘गुम्बाका सबै मुर्ती चोरीभयो भन्दै मलाई ६ असोजमा गाँउबाट फोन आएको थियो, कतै गाँउमै कसैले लुकाएको हुनसक्छन्, हल्ला गरे चोरी गर्ने मान्छे भाग्न सक्छ भन्दै प्रहरी र मिडियामा खबर गरिएन्’ गुरुङ्गले भने ।
उनले भने ‘८ असोजमा गाँउलेले गुम्बाको रेखदेखको जिम्मा दिएका व्यक्तिसहित जनप्रतिनिधिहरुको भेलाबाट कुनैपनि निश्कर्ष नलागेपछि आज मात्रै कुरा बाहिर निकालेका हौं ।’
गुम्बामा मूर्ति असुरक्षित भएकोले नजिकै एक खाडलमा लुकाएको र केही समयपछि उक्त ठाउँमा मूर्ति नभेटिएपछि चोरी भएको प्रमाणित भएको गुरुङ्गले बताए ।
गुम्बामा ज्यान असुरक्षितको कारण देखाउँदै मुख्य पुजारीहरु नबसेपछि स्थानीयको छलफलबाट कुन्साङ लामा, सोनाम गुरुङ्ग, पेमातोर्चे लामा र थुक्तेन बुढाको जिम्मामा मूर्ति दिइएको थियो ।
उपल्लो डोल्पामा सुरक्षा व्यवस्था कडा हुँन नसक्दा प्रत्येक वर्ष मूर्ति चोरी भइरहेको उनले बताए । राहाप गुम्बाबाट सबै मूर्ति चोरी भएपछि गुम्बा नै रित्तिएको छ ।
उपल्लो डोल्पामा मुख्य गुम्बाका रुपमा रहेका शे–गुम्बा, रे गुम्बा, मिखिम गुम्बा, गाँकर गुम्बा, बोन गुम्बा, राहाप गुम्बाका सबै मूर्र्तिहरु चोरी भइसकेका छन् ।
पछिल्लो तीनवर्ष यता उपल्लो डोल्पाबाट ६७ थान पुरातात्विक मूर्ति चोरी भएकोमा ४ थान मात्रै भेटिएको प्रहरीले जनाएको छ ।
मूर्ति चोरी भएको खबर शनिबार मात्र पाएकाले जिल्लाका मुख्य नाकाहरुमा चेकजाँच कडाई गरिएको र आइतबारदेखि प्रहरीको टोली अनुसन्धानको लागि घटनास्थलमा जाने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश बिष्टले जानकारी दिए ।










