मोबाइलको लतमा साना केटाकेटी

काठमाडौं ्रकाठमाडौं गोलढुंगाकी सन्तोषी आचार्यले एक वर्षमा तीनवटा मोबाइल फेरिसकिन् । नयाँ–नयाँ मोबाइल फेर्ने रुचि वा हराएकाले उनले एकै वर्षमा तीनवटा मोबाइल फेरेकी भने होइनन् । छोराले मोबाइल धेरै खेल्ने गरेपछि बिग्रेकाले आचार्यले पटक–पटक मोबाइल फेर्नुपरेको हो ।

‘नेट डिस्टर्ब भएर मोबाइलमा भिडियो नचलेपछि छोराले रिसले फ्याँक्दा फुटेर नयाँ फेर्नुपरेको हो,’ उनले भनिन् । युकेजीमा अध्ययनरत पाँच वर्षका उनका छोरा आरुष मोबाइलविना खाना नै खाँदैनन् । खाना खाने समयमा मोबाइलमा मोटु–पात्लु कार्टुन, गीत वा अन्य भिडियो नखोले उनी मुखै नउघार्ने आचार्यको भनाइ छ । पाँच वर्षीय आरुष उदाहरण मात्रै हुन्, ग्याजेटको लतले सहरिया धेरै बच्चाको जीवनशैली बिग्रँदै छ । अर्जुन पौडेलको रिपोर्ट

नेपाली छाडेर हिन्दी बोल्न थाले

अंग्रेजी राम्रो बनाउला, बोल्ला भनेर महँगो विद्यालयमा भर्ना गरेका छोरोछारीले टेलिभिजन हेरेर हिन्दी बोल्न थालेकोमा बाबुआमा चिन्तित बन्न थालेका छन् । ‘छोरो इंग्लिस बोल्ला भनेको त अरे भाइ क्या कर रहे हो पो भन्छ,’ सन्तोषीले भनिन्, ‘हामी नेपाली बोल्छौँ, स्कुलमा अंग्रेजी सिकाइन्छ, कसैले नसिकाएको हिन्दी भने चिचिलो छोरोले आफैँ सिकिसक्यो ।’

दिनभरि नै मोबाइलमा

अनामनगरस्थित अक्सिडेन्टल स्कुलमा अध्ययनरत वर्ष ६ की कृतिका थामी कसैले नखोसिदिए दिनभर पनि मोबाइल हेरिरहन्छिन् । मोबाइलमा ब्याट्री सकियो भने ल्यापटप र त्यो पनि नभए डेक्सटपमा भए पनि उनले कार्टुन हेर्नैपर्छ । कार्टुन हेर्दा कसैले डिस्टर्ब गरिदियो भने झर्कने र नेट डिस्टर्ब भयो भने मोबाइललाई पिट्ने गर्छिन् । ‘मोबाइलप्रतिको मेरी छोरीको आसक्ति यति धेरै छ कि छुटाउनै सकिँदैन,’ कृतिकाका बाबुले भने ।

मनोविज्ञ जमुना संग्रौलाका अनुसार केटाकेटी भएका हरेक आमाबाबु त्यस्तैखाले समस्याबाट गुज्रिरहेका छन् । ‘यस्तो समस्या दुई–चारवटा घरको मात्र होइन, साना वच्चा भएका हरेक घरमा छ,’ उनले भनिन् । इलोक्ट्रोनिक ग्याजेटहरू–मोबाइल, आइप्याड, ल्यापटप र डेक्सटपको लामो समयसम्म प्रयोग गर्दा बच्चाको दिमागमा समेत नराम्रो असर गर्ने उनले बताइन् । ‘हामीकहा“ प्रविधिको प्रयोगभन्दा पनि दुरुपयोग धेरै छ,’ उनले भनिन्, ‘हेर्न नै दिनुहुन्न भन्ने छैन, तर सीमित समय मात्र दिनुपर्छ ।’

के असर गर्छ

बालमनोविज्ञ डा। गंगा पाठकका अनुसार अधिकांश बालबालिका इलेक्ट्रोनिक ग्याजेटको लतमा परेका छन् । मोबाइलविना खाना नखाने, नसुत्ने मात्र होइन, लामो समय मोबाइल र इन्टरनेटको प्रयोगले साथीभाइसँग घुलमिल हुन मन नपराउने, एकान्त खोज्ने, खेल्न–कुद्न मन नपराउने भएका छन् । ‘लामो समय इलेक्ट्रोनिक ग्याजेटको प्रयोगले बालबालिकाको मस्तिष्क मात्र होइन, आँखालाई पनि असर पुग्छ,’ उनले भनिन् । त्यस्तै, इन्टरनेटमा हेरिएको भिडियोको प्रभावले बच्चाहरू एकोहोरो, घमण्डी, हिंस्रक हुने, तोडफोड गर्ने पनि हुन्छन् ।

लामो समय त्यस्ता सामग्री प्रयोगले बच्चाको स्मरण शक्ति कमजोर हुने, पढाइमा मन नगर्ने, काममा ढिला हुने, रिसाउने, झर्कने हुने र इन्टरनेटमा हेरिएको खेल आफूले मन परेको पात्रले हार्दा दुःखी, क्रोधित हुने मनोविज्ञ पाठकले बताइन् । त्यसैगरी फोनमा इयरफोन लगाएर लामो समय चर्को स्वरमा संगीत सुन्ने बानीले कान कम सुन्ने समस्या पनि हुने गर्छ ।

मोबाइलको नियमित प्रयोगले आँखाको पनि समस्या हुन सक्छ । डा। पाठकका अनुसार बाबुआमा जतिखेर पनि मोबाइलमै व्यस्त भइरहने अनि बच्चालाई मोबाइल नचलाउ भन्दा उनीहरूले टेर्दैनन् । उनीहरूले पनि खोज्छन् । बच्चालाई इलेक्ट्रोनिक ग्याजेटको लतबाट टाढा राख्न बाबुआमाले पनि मोबाइलको प्रयोग कम गर्नुपर्छ ।

मोबाइलमै व्यायाम

स–साना केटाकेटीको रुचि खेल्न–कुद्न र उफ्रिनमा भन्दा मोबाइल खेलाउनमै बढी हुनु चिन्ताको विषय भएको मनोविद् पाठक बताउँछिन् । ‘खेलकुद भनेको मोबाइल र कम्प्युटरमा खेल्ने हो भन्ने मानसिकता जस्तो बच्चाहरूमा पर्नु राम्रो होइन,’ उनले भनिन् । आफ्ना नानीहरू कोठाको कुनामा बस्ने, मोबाइलमै घन्टौँ व्यस्त भइरह“दा पनि अभिभावकले त्यसलाई सामान्य रूपमा लिनु चिन्ताको विषय भएको उनले बताइन् ।

बच्चालाई फोन नै दिनुहुन्न भन्ने होइन, तर त्यो फोनमा के हेर्छ, कसलाई फोन गर्छ भन्नेबारेमा खबर राख्नुपर्ने महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताए । कति बच्चाहरूले साथीसँग झगडा भएको निहुँमा जथाभावी गालीगलौज लेखिदिने गरेर पनि प्रहरीको फन्दामा परेका उनको भनाइ छ ।

के हेर्छन् बच्चाले मोबाइलमा

विभिन्न अध्ययनले टिनएजका अधिकांश केटाकेटीले मोबाइलमा पोर्नोग्राफी हेर्ने गरेको देखाएको छ । विद्यालयमा मोबाइल लाने र केटा साथीहरूलाई आफ्नो मोबाइलबाट केटी साथीलाई पोर्नोग्राफिक भिडियो सेयर गर्ने गरेका पाइएको छ । ‘कक्षा ७ मा पढ्ने अधिकांश केटाकेटीले पोर्नोग्राफिक भिडियो हेर्ने गरेको पाइएको छ,’ बालमनोविद् डा। गंगा पाठकले भनिन् ।

साना बच्चाहरू पनि सामाजिक सञ्जालका सदस्य

कलेज उमेरका मात्र होइन, इन्टरनेटको पहुँचमा रहेका धेरै साना बालबालिका पनि फेसबुकलगायत सामाजिक सञ्जालका सदस्य छन् । उमेर बढाएर सामाजिक सञ्जालका सदस्य भएका छन् । केहीलाई बाबुआमाले नै सामाजिक सञ्जालको अकाउन्ट खोलिदिने मात्र होइन, आफ्ना बच्चाहरूको फ्रेन्ड रिक्वेस्ट स्विकार्छन् पनि ।

कसरी छुटाउने बच्चामा मोबाइलको एडिक्सन

बच्चालाई मोबाइल दिएर भुलाउने नगर्नुस् । बरु बच्चासँगै खेल्ने र छलफल गर्ने गर्नुहोस् कतै घुमाउन लैजानुहोस् बच्चालाई पढ्ने किताब दिनुहोस्, चित्र कोर्न र त्यसमा रङ भर्न लगाउनुहोस्, बच्चालाई साइकल चलाउन लैजानुहोस्, क्यारमबोर्ड, लुँडोलगायत खेल्न दिनुहोस्, साथीसँग खेल्न लगाउनुहोस्। बच्चाका अघि अभिभावकले पनि धेरै समय मोबाइल नचलाउनुहोस्, इलेक्ट्रोनिक ग्याजेटप्रति बच्चाको धेरै आसक्ति छ भने वाइफाईको प्रयोग कम गर्नुहोस्। मार्सल आर्ट र स्विमिङमा पठाउने, बालबालिकासँगै हिँड्ने, गफ गर्ने, उनीहरूका कुरा सुन्ने, नयाँ ठाउँबारे वर्णन गर्ने गर्नुपर्छ ।आफ्नो बच्चाको कस्ता साथीसँग संगत छ, के कुरा गर्छ, कस्ता मेसेज पठाउँछ भन्ने बुझ्नुहोस्

बच्चाले के हेर्दै छ, कोसँग संगत गर्दै छ ख्याल गर्नुपर्छ
(धीरजप्रताप सिंह, वरिष्ठ प्रहरी उपरीक्षक, महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा

पहिला सम्बन्धमा हुने, प्रेममा पर्ने, पासवर्डसमेत साटासाट गर्ने । बीचमा केही गतिरोध आए सबै कुरा सार्वजनिक गरिदिने समस्या निकै छ । अघिकांश साइबर अपराधका केस यस्तै छन्, जसमा टिनएजरहरू बढी संलग्न छन् । यतिसम्म कि मन मिलुन्जेल नांगो फोटोसमेत सेयर गर्ने र पछि केही गरी सम्बन्धमा चिसोपन आउनेबित्तिकै गु्रपमा सेयर गरिदिनेसम्मका घटना भएका छन् ।

यस्तोमा सुरुमा त परिवारको भूमिका महत्वपूर्ण हुन्छ । आफ्ना बच्चाले के हेर्दै छ, कोसँग संगत गर्दै छ जानकारी राख्नुपर्छ । समय–समयमा काउन्सिलिङ गर्ने गर्नुपर्छ । सन्तान नै आमाबाबुका लागि सबैथोक भएको हुँदा उनीहरूले के गर्दै छन् भनेर चासो राख्नु उनीहरूको कर्तव्य हो । त्यस्तै, इन्टरनेटको प्रयोग गरी अपराध गर्नेहरूको सिकार बन्न सक्छन् बच्चाहरू ।

ग्याजेटको प्रयोगले बच्चाले रचनात्मक गुण गुमाइरहेका छन् डा गंगा पाठक, मनोविद्

कतिले आमाबाबु आफ्नो बच्चालाई मोबाइल, आइप्याड दिँदा गर्व गर्छन् । आफ्नो बच्चालाई मोबाइल चलाउन दिएको छु, मेरो बच्चाले आइप्याड खेल्छ भनेर मक्ख पर्छन् । त्यो सान र प्रतिष्ठाकोे विषय भएको हुन्छ । बच्चालाई त्यसरी इलेक्ट्रोनिक ग्याजेट प्रयोग गर्न दिँदा कतिखेर त्यो लत बनिसकेको हुन्छ, उनीहरूलाई पत्तै हुँदैन । केही आमाबाबु धेरै व्यस्त हुन्छन् र मोबाइल दिएर बच्चा भुलाउने उनीहरूको बाध्यता हुनसक्छ । तर, जुन कारणले दिए पनि त्यस्ता सामग्रीको लत हत्तपत्त छुटाउन सकिँदैन ।

मोबाइलको पासवर्ड आफैँ खोल्छ, एप्स आफैँ डाउनलोड गर्छ भनेर मक्ख पर्नेलाई बच्चाले अन्य रचनात्मक गुण गुमाइरहेको छ भन्ने पत्तै हुँदैन । खेल्नु, कुद्ने, उफ्रिनुपर्ने बच्चा कोठाको कुनामा एक्लै घोत्लिरहेको हुन्छ । खेल्न जाऊ भन्दा मान्दैन, एकोहोरो र एकलकाँटे, एकान्त रुचाउने हुन्छन् केटाकेटी । त्यो भनेको गम्भीर खालको समस्या हो । बच्चा सामाजिक नहुनु भनेको सामान्य समस्या हुँदै होइन ।

सबै कुरा नराम्रो मात्र हुदैन

हरेक सिक्काको दुईवटा पाटा भएजस्तै मोबाइल फोन र अन्य इलेक्ट्रोनिक ग्याजेटका पनि राम्रा–नराम्रा पक्ष हुन्छन् । नराम्रा पक्षको मात्र चर्चा गरेर राम्रा पक्षलाई नकार्न मिल्दैन । बच्चालाई फोन दिँदा आकस्मिक समयमा पनि बच्चासँग सम्पर्कमा रहन सकिन्छ । तत्काल फोन गरेर ऊ कहाँ छ र कोसँग छ, कतिखेर घर फर्कन्छन् भन्नेबारेमा बुझ्न सकिन्छ ।

बच्चाले फोन बोकेको छ र यदि ऊ छलियो वा हरायो वा कुनै समस्यामा फस्यो भने आफन्तलाई फोन गर्न सक्छ । अधिकांश फोनमा जिपिएस सिस्टम हुने हु“दा बच्चा हरायो, फेला परेन भने पनि कुन ठाउ“मा गयो कहा“ छ भन्ने कुरा सुरक्षाकर्मीको सहयोगले पत्ताा लगाउन सकिन्छ ।

शैक्षिक एप्सहरूको मद्दतले बच्चाले अध्ययनमा सहयोग पुर्‍याएको हुन्छ । साना नानीलाई अक्षर चिनाउने, लेख्न सिकाउने, गीतको माध्यमले अध्यापन गराउने, भिडियोहरू देखाएर सहज ढंगले पढ्ने कुरामा अभिरुचि जगाउन सकिन्छ । हिजोआज त कतिपय विद्यालयमा पनि इन्टरनेटबाट भिडियो डाउनलोड गरेर बच्चालाई देखाइन्छ । उनीहरूले नयाँ–नयाँ कुरा सिक्न सक्छन् । साथीहरू र शिक्षकसँग सम्पर्क गर्न र समस्या परेको कुरा सोध्न सक्छन् । फोनमा इन्टरनेटको पनि सुविधा हु“दा बच्चालाई अध्ययनमा सघाउ पुग्छ । नजानेको कुराको जवाफ तत्काल पाउन सक्छन् ।

नयाँ पत्रिका साभार




सम्बन्धित समाचार


error: Content is protected !!