माधव नेपालले बोलाएको ‘भेलामा’ को–को पुगे ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ने क पा०का वरिष्ठ नेता माधवकुमार नेपालले आयोजना गरेको भेलामा सचिवालय सदस्य, संसदीय दलका उपनेतादेखि बहालवाला मन्त्रीसम्म पुगेका छन् ।
काठमाडौँको बानेश्वरस्थित ईन्द्रेणी फुडल्याण्डमा भएको भेलामा पार्टी र सरकारका पछिल्ला गतिविधिका विषयमा राय, सुझाव लिइएको छ । नेता नेपालले पार्टी स्थायी समिति सदस्यहरुको भेला बोलाएका हुन् । पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशबाहिर भएको बेला नेता नेपालले बोलाएको भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भेलामा सहभागी भएका सचिवाय सदस्य समेत रहेका वामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङ भने बाहिरिएका थिए । भेलाको एजेण्डा र विषयबारे जानकारी नभएपछि सामान्य भेटघाट गरि फर्किएको उनीहरुले प्रक्रिया दिएका छन् । अन्य नेताहरु भने भेलामा बसेका थिए ।
भेलामा भीम रावल, छविलाल विश्वकर्मा, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भीम आचार्य, देव गुरुङ, अग्नि सापकोटा, देवेन्द्र पौडेल, गणेश शाह, रघुजी पन्त, गोकर्ण विष्ट, गिरिराजमणि पोखरेल र वर्षमान पुन लगायतका नेताहरु सहभागी थिए ।
यीमध्ये विष्ट, पोखरेल र पुन सरकारका वहालवाला मन्त्री पनि हुन् । अध्यक्ष ओली नेतृत्वको सरकारले गरेका पछिल्ला काम तथा नेकपामा प्रदेश इन्चार्ज, सह–इन्चर्जा, अध्यक्ष र सचिव तोक्दा मनोमानी गरेको विषयमा छलफल हुने बताइएको छ । अध्यक्षद्वयले स्थायी समितिलाई उपेक्षा गरेर निर्णय गरेको असन्तुष्ट समूहको आरोप छ ।
प्रदेश नेतृत्व र संसदीय समिति गठनमा एकलौटी निर्णय गरिएको, मुख्यमन्त्रीहरुलाई मापदण्डविपरीत भूमिका दिइएकोमा नेपाल समूह असन्तुष्ट छ । सचिवालको प्रस्तावमाथि स्थायी समितिमा छलफल भई पारित हुनुपर्नेमा एकलौटी निर्णयलाई वैधानिक मान्न नसकिने नेताहरुको तर्क छ ।
भेलापछि नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले दुई ठूला वाम पार्टीबीच एकता हुँदा केही कुरा नमिलेको, समायोजनमा कार्यकर्ताको भावना अनुसार हुन नसकिरहेको बेला स्थायी समिति सदस्यहरुको राय बुझ्न नेता नेपालले भेटघाट र चियापानको आयोजना गरेको सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
उनले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, नेकपाको सचिवालय र प्रधानमन्त्रीको सचिवालयले काम गर्न नसकिरहेको लगायतका विषयमा छलफलमा कुरा भएको बताए । यी विषयमा नेताहरुले राखेको राय, सुझावलाई वरिष्ठ नेता नेपालले नेतृत्वसँग परामर्श गर्ने नेता भट्टराईले बताए ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अमेरिका भ्रमणबाट फर्किएपछि प्रदेश नेतृत्व टुंग्याउने सल्लाह गरेर अफ्रिका भ्रमणमा गएको नेपालले बताउँदै आएका छन् । तर, उनी नफर्किई एकतर्फी प्रदेश नेतृत्वको निर्णय भएको नेपाल समूहले आरोप लगाएका छन् ।
नेता नारायणकाजी श्रेष्ठ पनि देशबाहिर थिए । उनलाई पनि सबै नेताहरु बसेर मात्र टुङ्ग्याउने र विदेश जाँदा फरक नपर्ने अध्यक्षहरुले बताएका थिए ।
४५ सदस्यीय स्थायी समितिमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षका १३र१३ जना र नेपाल निकटका १२ सदस्य छन् । रामबहादुर थापा पक्षका ४, नारायणकाजी श्रेष्ठनिकट २ जना सदस्य समितिमा अटेका छन् ।







