सल्यानमा प्राकृतिक प्रकोपबाट ११ को मृत्यु, दुई करोड बढी क्षति

सल्यान, वर्षायाममा जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरोबाट दुई महिनाको अवधिमा ११ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले दुई महिनाको अवधिमा ११ जनाको मृत्यु भएको जनाएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा ९१ वटा घटना घटेका छन् जसमा बाढीपहिरोबाट छजना अन्यबाट पाँच जनाको मत्यु भएको छ। बाढीपहिरोबाट दुई करोड ४३ लाख ४१ हजार ५०० रुपैयाँ बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले बताए। प्राकृतिक प्रकोपअन्तर्गत बाढी पहिरोका १३ घटना र अविरल वर्षाबाट ७७ घटना भएका छन्। गत आर्थिक वर्ष २०७४र०७५ मा प्राकृतिक प्रकोपबाट चार जनाको ज्यान गएको थियो भने १३ करोड, ८६ लाख १४ हजार ८८६ रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो। गत आर्थिक वर्षमा २५७ वटा घटना भएका थिए। गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा प्राकृतिक प्रकोपबाट मानवीय क्षति बढी भएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए। प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिलाई राहत तथा पुनर्स्थास्थापनाका काम भइरहेको उनको भनाई रहेको छ।






