दसैँ मनाउन घर फर्किने नेपालीको सीमानाकामा घुइँचो

बाँके ्र कामका लागि भारत गएका नेपाली दसैँ मनाउन फर्किने क्रम ह्वात्तै बढेको छ । एक हप्तायता कामका लागि भारत जाने क्रम रोकिएको छ भने फर्कनेहरूको चाप बढेको हो ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक सइ शिवकुमार ओलीका अनुसार अहिले दैनिक सात सयको हाराहारीमा नेपाली दसैँ मनाउन घर फर्किने गरेका छन् । सइ ओलीका अनुसार पछिल्लो समय काम गरेर फर्किनेको संख्या तेब्बरले बढेको छ । ‘विशेष काम वा औषधोपचार गराउन जानेबाहेक सबैजसो चाडपर्व मनाउन फर्किने नेपाली जमुनाहामा भेटिन्छन्,’ उनले भने । अघिल्ला वर्षभन्दा यस वर्ष दसैँ मनाउन फर्किनेको संख्या धेरै रहेको प्रहरीको भनाइ छ ।
दाङ, बाँके, बर्दिया, सुर्खेत, जाजरकोट, दैलेख, सल्यान, रुकुम, रोल्पा, प्युठान, कालिकोट, जुम्ला, हुम्ला, अछामलगायतका जिल्लावासी नमुनहा नाका हुँदै घर फर्किएका छन् । यसअघि जमुनाहा नाकामा काम गर्न भारत जाने नेपालीको भिडभााड लाग्ने गरेको थियो । दिल्ली, सिमला, चन्डीगढ, मुम्बई, कुल्लुलगायत ठाउँबाट चाडबाड मनाउन नेपाली आउने गरेको र ती ठाउँबाट आउने सवारीसाधन नेपाली यात्रुले भरिभराउ हुने गरेका छन् ।
चाडपर्वले जुरायो घर आउने साइत
गत वर्ष तिहार मनाएर भारत चन्डीगढ गएका दंगीशरण गाउँपालिका–१, मलईका दिलबहादुर थापा पनि सपरिवार दसैँ मनाउन घर फर्किंदै गर्दा जमुनाहामा भेटिए । उनले दसैँ नजिकिएपछि कर्मथलोमा बस्न मन नलागेपछि तत्काल बिदा मिलाएर घर फर्किएको बताए । ‘अघिपछि जन्मथलोभन्दा कर्मथलोको माया लागे पनि चाडबाड नजिकिएपछि त्यहाँ बस्नै सकेनौँ,’ उनले भने ।
बनगाड कुपिण्डे नगरपालिका, सल्यानका द्रोण बुढाथोकी पनि दसैँ मनाउन घर फर्किएका छन् । हिमाञ्चल प्रदेशको सिमलामा काम गर्दै आएका उनी दसैँ र तिहार मनाउन मात्र नेपाल फर्किएको बताउँछन् । नेपालमा काम गरेर खाने वातावरण नभएकाले भारत जाने गरेको बताउँदै उनले तिहारलगत्तै फेरि भारत फर्किने बताए । ‘काम गरेर खाने वातावरण भएको भए आफ्नै देशमा मिहिनेत गरेर खाइन्थ्यो, राज्यले हामीजस्ता युवालाई बिदेसिन बाध्य पारेको छ,’ उनले भने ।
चाडपर्व मनाउन आउनेका लागि विशेष सुरक्षा व्यवस्था
चाडपर्व मनाउन आउने नेपालीको सुरक्षाका लागि बाँके प्रहरीले विशेष अभियान थालेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । उनले भारतका विभिन्न स्थानबाट आउने नेपालीलाई सकुशल गन्तव्यसम्म पुर्याउन सुरक्षा नीति बनाएर सुरक्षा प्रबन्ध मिलाइएको बताए ।
उनले चाडपर्व मनाउन आउने नेपालीको सुरक्षाका लागि भारतीय प्रहरीसँग समन्वय गरेर भारतीय सीमा बजार रूपइडिहामा सादा पोसाकका प्रहरी परिचालन गरिएको बताए । लुटिन र ठगिनबाट जोगाउन सीमा नाकामा नागरिक सहायता कक्ष स्थापना गरिने बताउँदै एसपी पौडेलले बसपार्कसम्म सुरक्षित रूपमा पुर्याउने व्यवस्था मिलाइएको बताए ।






