फोक्सुण्डो जलाधार क्षेत्रको अध्ययन

डोल्पा — नेपालकै सबैभन्दा गहिरो ताल मानिएको फोक्सुण्डोको जलाधार क्षेत्रको दिगो विकास तथा वातावरण संरक्षणका लागि अध्ययन सुरु भएको छ ।
अध्ययनपछि फोक्सुण्डोमा जलवायु परिवर्तन अनुकूलन योजना निर्माण गरिनेछ ।

फोक्सुण्डो तालको पानी मुख्य नदीमा मिसिने ठाउँ सुलिगाडलाई आधार मानेर अध्ययन थालिएको हो । जलाधार क्षेत्रभित्रको सम्पूर्ण जल क्षेत्रले ओगट्ने ठाउँ र त्यसले पारेको प्रभावबारे अध्ययन गरिरहेको सामुदायिक वन उपभोक्ता महासंघका शाखा अध्यक्ष शेरबहादुर बुढाले बताए ।

उनका अनुसार प्रारम्भिक अध्ययनबाट जलाधार क्षेत्रमा केही अनौठा तथ्य फेला परेका छन् । ‘प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका लागि अध्ययन थालिएको हो,’ उनले भने,‘अध्ययनले पर्यटकीय गतिविधि सञ्चालनका लागि सहयोग गर्नेछ ।’ जलाधार क्षेत्रमा ३४ नदी रहेको अध्ययनबाट खुलेको छ । अध्ययन अनुसार फोक्सुण्डो तालदेखि सुलिगाडसम्म उत्तर–दक्षिण भएर सुलिगाड नदी बग्ने गरेको छ । जलाधार क्षेत्रमा सुलीगाड नदीका साथै पूर्वमा १९ र पश्चिममा १४ नदीनाला छन् ।

जलाधार क्षेत्रमा बसोबास गर्ने बासिन्दाका कारण प्राकृतिक सम्पदा संकटमा पर्न थालेको भन्दै विस्तृत अध्ययन गर्न लागिएको महासंघले जनाएको छ । जलाधार क्षेत्रमा एक प्रतिशत खेतीयोग्य जमिन छ ।





error: Content is protected !!