बिजुली बाल्न श्रमदानमा खटिए राष्ट्रसेवक कर्मचारी

बि पी डोल्पाली ः डोल्पा ः स्थानीय बासिन्दा र नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रसेवक कर्मचारी डोल्पाको सदरमुकाम दुनैबजारमा बिजुली बाल्नका लागि श्रमदानमा जुटिरहेका छन्। वर्षाका कारण गएको असार १९ गते नहर माथिबाट आएको पहिरोले क्षति पुर्याएको जैरीगाड पावर हाउसको नहरमा उनीहरू श्रमदान गरिरहेका छन्।
पहिरोको कारण बन्द भएको नहरमा स्थानीयबासी तथा कर्मचारी श्रमदानमा जुटेको डोल्पा ठूलीभेरी नगरपालिका–३ का वडाध्यक्ष अर्णबहादुर न्यौपानेले बताए। वर्षाले पहिरो खसेपछि विद्युत आयोजनाको झण्डै ४५ मिटरको हाराहारीमा नहर भत्किएको छ। विद्युतको नहर भत्किनुका साथै नहरमा राखिएका ुपेनस्टक पाइपुहरूको जोर्नी समेत टुटेकोले डोल्पा सदरमुकाम दुनैलगायत जुफाल सुउँ र रुम गाउँका झण्डै १३ सय घरधुरी अन्धकारमा बस्न बाध्य छन्। विद्युत सेवा अवरुद्ध भएपछि पहिलो पटक स्थानीयले पहिरो पन्छाएर नहर सफा गर्न श्रमदानमा होमिएको स्थानीय बासिन्दा हर्कबहादुर आरसीले बताए।
उनले भने ‘योजनाको आश गरेर बस्दा बत्ती बल्ने छाँट देखिएन तेसैले छिटोभन्दा छिटो बत्ती बाल्न विद्युत प्राधिकरणलाई उर्जा मिलोस भनेर श्रमदानमा जुटेका हौँ।’ सदरमुकाम दुनै आसपासका थाला, तिप्ला, लोचा, उपल्लो दुनै र बजारबासीले आलोपालो गरेर श्रमदान गरिरहेका छन् भने कर्मचारीहरुले भने बिदा परेको दिन र शनिवार श्रमदान गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले बताइन्। प्राधिकरण जतिसक्दो छिटो विद्युत चालु गर्ने प्रयत्नमा लागि परेको र स्थानीयबासी तथा कर्मचारीहरुको श्रमदानले ठूलो हौसला मिलेको डोल्पा विद्युत वितरण केन्द्र प्रमुख शंकरसिं ठकुरीले बताए। स्थानीयबासी तथा कर्मचारीहरुले अहोरात्र खटिएर श्रमदान गरिरहेको भए पनि अस्थायी रूपमा विद्युत सञ्चालन गर्न कम्तीमा १० लाख रुपैयाँ खर्च लाग्ने प्राधिकरण डोल्पाले जानकारी दिएको छ।






