पिडितले नै घटना भवितब्यमा भएको भन्दै बयान फेरेपछि , एक दिनमै घटना युटर्न ,प्रहरीले मुद्धा चलायो

सुरुमा सुईबाट मरेको भन्दै प्रहरी कहाँ किन दिईयो उजुरी

जाजरकोट , क्षतिपुर्ती र अवैध मेडिकल संचालकलाई कारवाहीको माग गदै आफन्तले शनिवार सम्म लास बुझ्न मानेका थिएनन । तर चौविस घण्टा भित्र आफन्तले नै बयान फेरेपछि महिला मृत्यु प्रकरण पुरै युटर्न भएको छ । घटना थप रहस्यमय भएको छ । छेडागाड नगरपालिका ५, थलहबजार स्थित जयलक्ष्मी मेडिको फर्ममा उपचारको लागी गएकी छेडागाड १०, नल्फुकी ३८ वर्षिया पन्चकला नाथ योगीको गत विहिवार उपचारको क्रममा मृत्यु भएको थियो ।
सामान्य ज्वरोको उपचारका लागी गएकी ति महिलाको मेडिकल संचालक तिलक बोहराको लापरवाहीले ज्यान गएको भन्दै आफन्तले क्षतिपुर्ती र कारवाहीको माग गदै शव समेत बुझन् मानेका थिएनन् ।

फेरी भव्यतव्य भन्दै लास वुझेपछि उव्जियो आशंका ।

 पिडित पक्ष र मेडिकल संचालक पक्ष विच रकम लेनदेनमा कुरा मिलेपछि आइतवार पिडित पक्ष शव बुझ्न सहमत भएका हुन् । पिडित पक्षले शव मात्र बुझेका छैनन् भवितब्यमा महिलाको मृत्यु भएको भन्दै प्रहरी कार्यालयमा लिखित निवेदन समेत दिएपछि थप आशंका उब्जिएको छ ।
‘शनिवार सम्म मेडिकल संचालककै लापरवाहीले महिलाको मृत्यु भएको भन्दै किटानी जाहेरी दिन तयारीमा थिए तर आईतवार एक्कासी उनको मृत्यु भवितब्यमा परेर भयो भनेर जाहेरी आयो हामी आश्चार्यमा परेका छौ’ निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लोकबहादुर विष्टले भने ‘मेडिकलवालाले औषधी विक्री गर्न मात्र पाउँछ त्यो पनि अवैध मेडिकल हो भन्ने कुरो आएको छ । उसले आफै चेकजाँच गरेर सुई लगाएको देखिन्छ । जुन मेडिकल अधिकृत बाहेक अन्य स्वास्थ्यकर्मीले गर्न मिल्दैन ।’ पिडित पक्षले जाहेरी नदिएपनि घटनाको प्रारम्भिक अनुसन्धानबाट प्रहरीले इलाज सम्बन्धि कसुर २०७४ अनुसार फौजदारी अभियोगमा मेडिकल संचालक विरुद्ध आईतवार नै मुद्धा दर्ता गराएको प्रहरी निरीक्षक विष्टले बताए । पिडित पक्ष मिलेपनि गैरकानुनी कार्य छ भने प्रहरी चुप लागेर बस्दैन । आफ्नो प्रक्रिया अघि बढाउँछ विष्टले भने ‘अदालतले मेडिकल संचालक बोहरालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । घटनाको विस्तृत रुपमा छानवीन गछौ ।’ घटना लगत्तै उनी पक्राउ परेका थिए ।

यसरी मिल्यो कुरा

स्रोतका अनुसार पिडित पक्षलाई मेडिकल संचालक पक्षले सात लाख रुपैयामा सहमत गराएको बताईएको छ । उक्त रकम लेनदेन पछि लास बुझ्ने र भवितब्यले मृत्यु भएको बयान गर्ने सहमति भएको स्रोतको दावी छ । उक्त कुरा मिलाउन केही राजनैतिक दलका नेताहरु समेत सक्रिय भएका थिए । मृतकका ससुरा सेतुनाथ योगीले समेत कुरा फेरेका छन् । ‘उपचार गरेर फर्कने क्रममा बाटोमा बुहारीको मृत्यु भयो । जे हुने भैहाल्यो । मुद्धा लडेर पनि पैसा मात्र खर्च हुने हो । बुहारी फर्केर आउने होईन । त्यही भएर भवितब्यमा परेर ज्यान गएको भनि प्रहरीमा निदेदन दिएको हुँ ’ उनले भने ‘तर कसैको दवाव र पैसाको प्रभावमा परेको छैन ।’
ज्वरोको उपचारका लागी आएकी ति महिलालाई मेडिकल संचालन बोहराले तिन ओटा सुई लगाएको र केही समय पछि घरै लैजाने क्रममा बाटोमै निधन भएको थियो । मेडिकलमा नभई घर जाने क्रममा ति महिलाको मृत्यु भएकोले उपचारमा कुनै लापरवाही नभएको मेडिकल संचालक पक्षको तर्क छ । भने पिडित पक्षले मेडिकलमा ज्वरोको तीन ओटा सुई लगाएको केही घण्टामै मृत्यु भएकोले उपचारमा लापरवाही भएको भन्दै क्षतिपुर्ती र कारवाहीको माग गरेर शव समेत बुझेका थिएनन । तर उनीहरुको अडान २४ घण्टा भित्र युटर्न भएको अधिकारकर्मीको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!