छापा नापी विभागकै नक्सामा छैन लिम्पियाधुरा

काठमाडौं ः कालापानी क्षेत्र गायव पारिएको नक्कली नक्सा सरकारले प्रयोग गर्दै आएको नापी विभागले देखाएको छ। तर, विभागकै आधिकारिक नक्सामा वर्षौंदेखि लिम्पियाधुरा छुटिरहेको पाइएको छ। यसले नेपालको आकारलाई करिब ३१० वर्ग किलोमिटर खुम्च्याएको छ।
भारतले नै बनाएका पुराना नक्सामा पनि लिम्पियाधुरा नेपाली भूमि रहेको प्रस्ट देखिन्छ। उक्त इलाका भारतले ओगट्ने क्रम बढेपछि नेपालले छोड्दै गएको पाइन्छ। नेपालको पूर्व–पश्चिम सिमाना मेची–महाकाली नदी हुन्। सुगौली सन्धिमा पनि त्यही छ। तर, पश्चिममा महाकाली वारिको ठूलो भू–भागमा भारतको हस्तक्षेप नेपाली अधिकारीहरूले रोक्न नसकेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले आधिकारिक नक्सामा लिम्पियाधुरा छुटेको पुष्टि गरे।
यो उनले विभागको नेतृत्व गर्नुभन्दा पहिल्यैको घटना हो। ‘नक्सा बनाउँदा तत्कालीन दरबार र शाही नेपाली सेनाको तत्कालीन जंगी अड्डाले लिम्पियाधुरा नराख्न आदेश दिएका थिए’, उनले भने, ‘त्यही कारण विभागको कित्ता नापी कालापानी र लिपुलेकभन्दा पर गएन।’ लिम्पियाधुरा कालापानी–लिपुलेकभन्दा ३० किलोमिटर पश्चिमको भूभाग हो। लिम्पियाधुरा इलाका सरक्क छाडिदिएको नेपाल सरकारले यतिबेला कालापानी–लिपुलेक क्षेत्रसमेत छाडेर बनाएको नक्सा प्रयोगमा ल्याइरहेको छ। उक्त भूमि पनि भारतले कब्जामा लिइरहेको छ।










