नेपालले चीनलाई भन्यो–सबै बन्दरगाहमा पारवहन पहुँच देउ

काठमाडौँ । सबै बन्दरगाहमा पारवहन पहुँच दिन नेपालले चीनसमक्ष प्रस्ताव गरेको छ । नेपाल र चीनबीच बुधबारदेखि सुरु भएको पारवहन प्रोटोकलसम्बन्धी बैठकमा नेपालले सबै सामुद्रिक तथा सुक्खा बन्दरगाहमा पारवहन सुविधा दिन चिनीयाँ पक्षसँग आग्रह गरेको हो ।
२०७२ चैतमा नेपाल र चीनबीच भएको व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनका लागि प्रोटोकल टुंग्याउने विषयमा काठमाडौंमा द्धिपक्षीय छलफल चलिरहेको छ । छलफलमा नेपालले खासगरी बन्दरगाह र सडक÷रेलमार्गको पहुँच पाउने विषयमा प्रस्ताव राखेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालका सहसचिव नवराज ढकालले बताए ।
नेपालजस्तो भूपरिवेष्ठित मुलुकको व्यापार पहुँचका लागि सामुद्रिक बन्दरगाह उपयोग गर्न पाउने अन्तर्राष्ट्रिय कानून भए पनि नेपालले हालसम्म चीनका बन्दरगाह उपयोग गर्न पाएको छैन ।
बैठकले प्रोटोकलमा सहमति गरी हस्ताक्षर गरेपछि सम्झौता कार्यान्वयनको बाटो खुल्नेछ । नेपालका लागि नजिकका तियानमेन, सेन्जेन, झ्यान्जेन लगायतका बन्दरगाह बढी उपयुक्त र प्रभावकारी भए पनि नेपालले सबै बन्दरगाहमा पहुँचको प्रस्ताव राखेको छ । त्यस्तै, सुक्खा बन्दरगाहको हकमा सिगात्से बढी प्रभावकारी देखिए पनि यस विषयमा पनि नेपालले सबै स्थानका लागि प्रस्ताव अघि सारेको छ ।
चीनबाट पनि सबै बन्दरगाह उपयोग गर्न दिनेसम्मको उदारता प्रकट भएको बैठकमा सहभागी अधिकारीहरू बताउँछन् । छलफलमा कुन वस्तु आयात तथा निर्यात गर्न पाउने भन्ने विषयलाई पनि टुंग्याइने मन्त्रालयले बताएको छ । बैठक शुक्रबारसम्म चल्नेछ ।










