सल्यानमा पहिरोले घर वगाएपछि ३ वालवालिका वेपत्ता

इन्द्र बुढाथोकी
सल्यान ः अविरल वर्षा पछि आएको पहिरोले घर पुरिदा एकै घरका तीन वालवालिका पुरिएका छन् । बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतवार वेलुकी पहिरोले पुरिएपछि उहाँका २ छोरी १ छोरा पुरिएर वेपत्ता भएका छन् ।
पहिरोमा परेर वेपत्ता हुनेहरुमा वालाराम डाँगीकी १० बर्षिया छोरी ललिता डाँगी, ७ बर्षीय छोरा ललित डाँगी र ४ बर्षिया छोरी मेनका डाँगी रहेको प्रहरीले जनाएको छ । वावु आमा भैसी दुहन गएको र वालवालिकाहरु भान्सा कोठामा खाना खादै गर्दा पहिरोले घर पुरेको वलीले जानकारी दिनुभयो ।
घटनास्थल सदरमुकाम देखि ५० किमी टाढा रहेको र अविरल वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेकोले उद्धार गर्न कठिनाई भएको वडाध्यक्ष दिपक वलीले जानकारी दिनुभयो । “पहिरो खस्ने क्रम अहिले पनि रोकिएको छैन अध्यारो भएको कारण अहिले उद्धार गर्न गाह्रो छ ।” वलीले भन्नुभयो । पहिरोमा परी घाइते भएर वेहोस भएका वावुआमा दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको वडाध्यक्ष वलीले जानकारी दिनुभयो ।
घटनास्थलमा सञ्चार सुविधा नभएकोले थप विवरण वुझन नसकिएको जानकारी वागचौर नगरपालिकाका नगरप्रमुख लोकमान वुढाथोकीले जानकारी दिनुभयो । “घटना भएको सुन्ने वित्तिकै उद्धारका लागि म हिडेको छु विपदको यस घडिमा उद्धार कार्यमा सहयोग गर्न सवैलाई अनुरोध गर्दछु ।” मेयर वुढाथोकीले भन्नुभयो ।
घटनालगत्तै उद्धारका लागि सिमखोली प्रहरी चौकी र इलाका प्रहरी कार्यालय थारमारेबाट उद्धारका लागि टोली हिडेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । वर्षा नरोकिएको र ५ घंटा पैदल हिड्नु पर्ने भएकोले समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक विरेन्द्र वहादुर शाहीले जानकारी दिनुभयो ।










