छापामा आजः गोप्य मन्दिर बनाउन विदेशी गुहार्दै सरकार

काठमाडौं । राजधानीबाट प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा आज पनि बिमस्टेक शिखर सम्मेलन परेको छ । पत्रपत्रिकाहरुले खासगरी शुक्रबार १८ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको सम्मेलनको औपचारिक समाचारसँगै यसको उपलब्धिबारे चर्चा–परिचर्चा गरेका छन् ।

कञ्चनपुरमा अर्की किशोरी बलात्कृत भएकोलाई पनि आजका सबैजसो दैनिक पत्रिकाहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने पहिचान हुन नसकिरहेका बेला बेलडाँडी गाउँपालिकाकी अर्की किशोरी बलात्कृत भएकी हुन् ।

यसका अतिरिक्त भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं आइपुगेको, गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको, नेपाली ब्रान्ड विदेशमा चर्चित बनेको, रक्सौल–काठमाडौं रेलमार्गका लागि सम्झौता भएकोलगायत समाचारले पनि पहिलो पृष्ठमा स्थान पाएका छन् । शनिबार भएकाले साथमा शनिबारीय सामग्री त छँदैछन् ।

निर्मला पन्तका हत्यारालाई कारबाही माग गर्दै उनका सहपाठीले प्रधानमन्त्रीलाई लेखेको पत्र पहिलो पृष्ठमा छापेको अन्नपूर्णले बिमस्टेक शिखर सम्मेलनले गरिबी हटाउने वाचा गरेको छापेको छ । यसका साथै कञ्चनपुरमा फेरि बालिका बलात्कृत भएको र हरिप्रसाद रिमालको निधन भएको खबरलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।

कान्तिपुरले ‘बिमस्टेकको १८ बुँदे घोषणापत्रः २०३० सम्म गरिबी अन्त्य’ शीर्षक दिएर बिमस्टेक शिखर सम्मेलनका उपलब्धि र घोषणापत्रबारे चर्चा गरेको छ ।

गोप्य मन्दिर बनाउन सरकारले विदेशी गुहारेको अर्को खबर पनि कान्तिपुरमा छ । तान्त्रिक दीक्षा पाएका बाहेक छिर्न नहुने मान्यता रहेको हनुमानढोकास्थित आगम्छे मन्दिर जीर्णोद्धार गर्ने पुरातत्व विभागले जापानलाई दिन लागेको हो ।

विदेशी ब्रान्डका सामानहरुको दबदबा नेपालमा बढी रहेका बेला नयाँ पत्रिकाले नेपाली ब्रान्डका सामान विदेशमा लोकप्रिय बन्न थालेको लेखेको छ ।

नयाँ पत्रिका लेख्छ– वाइवाइ चाउचाउ नेपालीको मात्रै होइन, तीन दर्जन मुलुकका भान्सामा पाक्छ । गोल्डस्टार नेपालमा भन्दा भारतमा बढी चर्चित छ । हिमालयन जाभा विदेशमा आउटलट खोल्न व्यस्त छ । यसै वर्ष बाजेको सेकुवा अमेरिका पुग्यो ।

नयाँ पत्रिकाकै भित्री पृष्ठमा प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीले बिहीबार साँझबाट बालुवाटार छाडेको समाचार छ । स्वीकृत बिदा सकिएपछि जोशीले बिहीबारबाट सरकारीनिवास बालुवाटार छाडेका हुन् ।

राजधानीले कहाँ चुक्यो प्रहरी शीर्षक दिएर निर्मला हत्या प्रकरणबारे चासो राखेको छ भने गोरखापत्रको पहिलो पृष्ठ बिमस्टेक शिखर सम्मेलन र रक्सौल काठमाडौं रेलमार्ग निर्माणका विषयले भरिएको छ ।





error: Content is protected !!