आठबिसकोटको उदाहरणीय काम

रुकुम पश्चिममा पर्ने आठबिसकोट नगरपालिकाले आफ्नो स्रोत र साधन प्रयोग गरेर नगरपालिकाभित्र २५ शैयाको अस्पताल सञ्चालन गर्न लागेको छ । अहिले आफ्नै भवन बनिनसकेको भए पनि उसले अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक तथा मानवीय साधनको व्यवस्था गरिसकेको जनाएको छ ।
सम्भवतः गत वर्ष स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि कुनै नगरपालिका या गाउँपालिकाले यसरी अस्पताल नै सञ्चालन गर्न लागेको यो पहिलो अवसर हो । यससँगै अब कमसेकम सो नगरपालिका र वरपरका नागरिकलाई समेत प्रारम्भिक खालका रोगका लागि टाढा जानुपर्ने छैन ।
गम्भीर प्रकृतिका विशेषज्ञ चिकित्सक चाहिने उपचारका लागि बाहिर जानु परे पनि आममानिसलाई सताउने सामान्य रुघाखोकी, ज्वरो, पखाला, आउँ, टाइफाइड, जन्डिस, घाउखटिरा, जुका, प्रसूतिसम्बन्धी सेवा, दम, विभिन्न दुःखाइ जस्ता रोगका लागि यस्तो अस्पतालले सेवा दिन सक्छ ।
शुद्ध खानेपानीको अभाव, सफा पानी पिउनुपर्ने जानकारीको अभाव या आर्थिक सामाजिक अवस्थाले चेपमा परेका वा गरिबीका कारण दैनिक आहारविहारमा अनेक समस्या झेलिरहेका मानिसका आधाभन्दा बढी रोग पानीका कारण उत्पन्न हुन्छन् । शुद्ध खानेपानीको व्यवस्था उपलब्ध नहुँदा त्यो नै रोगको कारण बन्छ ।
आठबिसकोटको जस्तो विविध क्षेत्रमा काम गर्नेहरू बढ्दै गए भने काम नगरी बसेकालाई पनि दबाब पुग्छ, राम्रो काम गरेर देखाउने बाध्यता आइलाग्छ
यसबाहेक पोषणयुक्त खाना पु(याउन नसक्दा, सरसफाइमा ध्यान दिन नसक्दा या न्यानोका आवश्यकता पूरा नहुँदा पनि रोग बल्झिरहन्छ । यस्ता रोगबाट आफ्ना नागरिकलाई मुक्त गर्न सकियो भने त्यस्ता नागरिकको उत्पादकत्व पनि बढी हुन्छ । त्यसले स्वस्थ परिवार र स्वस्थ समाज निर्माण गर्नमा सहयोग पुग्छ । आठबिसकोट नगरपालिकाको यो प्रयास सराहनीय छ ।
यसले आर्थिक अभावमा उपचारका लागि टाढा जान नसकेर यसै रोग पालेर बसेका असक्त गाउँलेलाई जीवन सहज बनाउन मद्दत गर्नेछ । गाउँमै सिंहदरबार भनेको पनि यस्तैलाई हो । सँगै भक्तपुर नगरपालिकाले जस्तै महिना–महिनामा पालो लगाएर वडावडामा स्वास्थ्यकर्मी पठाई घरघरमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सकियो भने स्वास्थ्य सेवामा यसले एउटा क्रान्ति नै ल्याउनेछ ।
यसरी नजिक अस्पताल पुगे भने यसअघि जाजरकोटमा दोहोरिने गरेको महामारीको समस्या पनि समयमै नियन्त्रणमा ल्याउन सकिनेछ । यस्तो प्रयासलाई सफल बनाउने संघीय तथा प्रदेश सरकारले विशेषज्ञ फिजिसियनलाई कम्तीमा एक वर्ष यस्तो ठाउँमा विशेष व्यवस्था गरेर भए पनि पठाउन सहयोग गरे भने हाम्रो स्वास्थ्य सेवामा आमूल परिवर्तन ल्याउन सकिन्छ । यसैगरी विविध क्षेत्रका विशेषज्ञ चिकित्सकको टोलीले हरेक वर्ष केही साता यस्ता अस्पतालमा शिविर चलाउन जाने हो भने स्थानीय स्वास्थ्यकर्मीले पनि सिक्छन् र धेरैजसो गम्भीर प्रकारका रोगीले पनि आफ्नै गाउँमा सेवा पाउने वातावरण बन्छ ।
यतिवेला स्थानीय तहका सरकारहरूले कर मात्र बढाए या डोजर चलाएर व्यक्तिगत आर्थिक लाभमा लाग्ने जनप्रतिनिधिले हैरान पारे भन्ने चर्चा भइरहेको छ । आठबिसकोटको जस्तो विविध क्षेत्रमा काम गर्नेहरू बढ्दै गए भने काम नगरी बसेकालाई पनि दबाब पुग्छ, राम्रो काम गरेर देखाउने बाध्यता आइलाग्छ । आठबिसकोट जस्तै आठ–बीस स्थानीय तह मात्र सक्रिय रूपमा जनताको सेवामा लागे भने पनि हामीले समाजमा आशावाद सञ्चार गर्न सक्नेछौँ ।
naya patrika










