सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गरिने

सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सबै प्रदेशमा संचार ग्राम स्थापना गर्नेगरी यसै वर्षबाट बजेटको व्यवस्था गरिएको बताए ।
संघीय संसद विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा मन्त्री बास्कोटाले पत्रकारहरुलाई दक्ष बनाउन आवश्यक प्रशिक्षणसहितको कार्यक्रम सञ्चालन हुने गरी संचारग्राम स्थापना गर्न लागिएको जानकारी दिए ।
उनले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता जनाए । विराटनगर, बुटवल, नेपालगंज लगायत देशका मुख्य सहरमा फोरजी सेवा संचालनमा ल्याउने योजना रहेको उनले बताए । समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै नागरिकको पहुँचमा पुग्ने गरी सूचना प्रविधिको विकास गर्न सरकारलाई सचेत गराए । उनले विकास र निर्माणको कामलाई स्वच्छ ढंगले सम्पादन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
समितिका अर्का सदस्य टोपबहादुर रायमाझीले दुर्गम भेगमा पनि नेटवर्क आउने गरी टेलिफोनको व्यवस्था गर्न मन्त्री बास्कोटको ध्यानाकर्षण गराएका थिए । सबै सरकारी संस्थानमा उचित प्रविधि भित्रयाउन पनि उनले माग गरे ।
समितिका अर्का सदस्य महेन्द्रराय यादवले सरकारी संचारमाध्यामलाई विश्वसनीय बनाउन सरकारसँग माग गरे । सरकारले सूचनामा सबैको पहुँच पु¥याउनुपनेमा उनले जोड दिए ।
समितिले स्थानीय सरकारलाई प्रविधि विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको थियो ।










