सल्यानमा भेटियो अनौठो गुफा, जहाँ बज्छ प्राकृतिक बाजा

सल्यान ः सल्यानको छत्रेश्वरी गाउँपालिका ३ सान्नानचौरका रानी सामुदायिक वनभित्र विभिन्न आकृति र बाजागाजा बज्ने अनौठो खालको गुफा भेटिएको छ । स्थानीय मोतीलाल घर्तीले गाई चराउन जंगल गएको बेला नयाँ र अनौठो खालको गुफा देखेपछि स्थानीयलाई खबर गरेका थिए ।
सो गुफा भेटिएपछि भित्र के रहेछ भनेर हेर्न जाँदा विभिन्न खालका आकृतिहरु देखिएको स्थानीयको भनाई छ । मोतीलालले भने– ‘ग्वाला गएको बेला गुफा देखेँको हुँ, यसो भित्र तिर हेरेको अनौठा आकृतिहरु देखियो । त्यसपछि गाउँका अरुलाई पनि खबर गरेँ ।’
केही दिन अघि युवा नेता हिमाल योगीसहितको एक टोलीले गुफाको अवलोकन गरेको छ । शंखमुल झिम्पे खर्सुवास सडकखण्ड अन्तर्गत मिलनचोकबाट ३० मिनेटको पैदल यात्रा पछि सो गुफा सम्म पुग्न सकिने योगीले जानकारी दिए ।
अहिले सम्म कुनै नाम नदिएको सो गुफा ३ सय मिटर लामो, २ सय ५० मिटर अग्लो र ८ मिटर चौडा रहेको आफुहरुले अनुमान गरेको उनले बताए । पाँच सय बढी चमेराहरु रहेको गुफाभित्र विभिन्न देवीदेवता, मादल लगाएतका आकृति रहेको उनले बताए ।
उनले भने–‘अनौठो त के छ भने, प्राकृतिक अवस्थामा रहेको मादल मज्जासंग बज्छ, हामीले त्यहि मादल बजाएर गीत पनि गायौँ ।’ यस्तो अनौठो खालको गुफा फेला परेपछि अहिले जिल्लामा यसको चर्चा हुन थालेको छ ।
भर्खरै पत्ता लागेको यस गुफाको संरक्षण, व्यवस्थापन तथा प्रचारप्रशारको आवश्यकता यतिखेर देखिएको छ । खासगरी स्थानीय सरकाले गुफाको संरक्षण र प्रचारप्रसारमा विशेष ध्यान पुर्याएर योजना अघि सार्नुपर्ने देखिन्छ ।
गुफाको महत्व र इतिहास बुझाउन सकेमा अत्यन्तै रमणिय स्थानमा रहेको सो अनौठो गुफा सबैको आकर्षणको केन्द्र बन्न सक्ने स्थानीयको भनाई रहेको छ । छत्रेश्वरी तथा समग्र सल्यानको पर्यटन प्रवद्र्धनका लागि गुफाले महत्वपूर्ण भुमिका खेल्ने बलियो सम्भावना देखिएको छ ।










