जाजरकोटमा जंगली च्याउ खाँदा एकै घरका चार जना सिकिस्त विरामी

लोकेन्द्रविक्रम शाही
जाजरकोट , ३१ असार ः जाजरकोटमा जंगली च्याउ खाँदा एकै घरका चार जना सिकिस्त विरामी परेका छन् । नलगाड ७ चामाखेतकी ९५ बर्षिया कमला नेपाली, ६५ बर्षिया मुना नेपाली, ३० बर्षिया तिला नेपाली र २० बर्षिया विपना नेपाली सिकिस्त विरामी परेको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।
विरामीहरुको जिल्ला सदरमुकामबाट १६ कोष पुर्वमा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा प्राथमिक उपचार हुँन नसकेपछि रुकुम चौरजहारी लिन लगिएको छ । दल्ली स्वास्थ्य केन्द्रमा विसालु च्याउ विरुद्ध प्रयोग हुने औषधी नहुँदा उपचारमा समस्या भएको नगरप्रमुख रावलको भनाई छ । दल्लीमा उपचार हुन नसकेपछि सिकिस्त ति विरामीलाई बाहिर पठाएको छ । जंगलबाट टिपेर ल्याएको च्याउ तरकारीको रुपमा पकाएर खाँदा उनीहरु चार घरका २० जना विरामी परेको भएपनि चार जना सिकिस्त भएको नगरप्रमुख रावलले बताउनुभयो ।
सामान्य विरामी परेका अन्य १६ जनाको गाँउमै उपचार भैरहेको छ । विरामी मध्य विपनाको अवस्था गंभिर रहेको स्वास्थ्यकर्मीको भनाई छ । विरामी भएकाहरु हजुर आमा, आमा र छोरीहरु हुन् ।








