आहा । नदीको शिरमा सगरमाथा

नेपालबाट सगरमाथा बेसक्याम्प पुग्न मज्जाले हिँड्नुपर्छ । बेसक्याम्प पुगेर फर्किन ९र१० दिन लाग्छ । नेपालतर्फको बेसक्याम्प हिउँले ढाकिएको हुन्छ । तर, तिब्बतबाट तीन दिनमै बेसक्याम्प पुगेर फर्किन सकिन्छ । चीनले बेसक्याम्पलाई सडकमार्गबाट जोडेको छ । तिब्बतपट्टि ५२ सय मिटरमा चोमोलङ्मा बेसक्याम्प भेटिन्छ । बेसक्याम्पको सय मिटर वरसम्म कालोपत्रे सडक छ । तिब्बततिर मरुभूमि मैदान र हिमनदी देखिन्छ ।

नदीको शिरमा सगरमाथा छ । बेसक्याम्पमै बिजुली र इन्टनेट सुविधा पनि पुगिसकेको छ । तिब्बतबाट सगरमाथा छर्लंग देखिन्छ । नदीसँगै सगरमाथाको दृश्य क्यामेरामा कैद गर्न सकिन्छ । तिब्बतबाट बेसक्याम्प पुग्न सजिलो भए पनि नेपालबाट जस्तो रोमाञ्चक यात्रा नहुने उद्यमी शेखर गोल्छाको अनुभव छ । नेपालतर्फ लुक्ला, फाक्दिङ, खुम्जुङ, नाम्चेमा पाइने जीवनशैली तिब्बततिर अनुभव गर्न पाइँदैन । नेपालबाट जाँदा गज्जबका गाउँ देखिन्छन्, चीनबाट कंक्रिटका जंगल ।

कसरी जाने 
तिब्बतबाट बेसक्याम्प पुग्न काठमाडौंमै दुईवटा प्रक्रिया पूरा गर्नुपर्छ । एउटा चीनको भिसा र अर्को तिब्बतको पर्मिट लिनुपर्छ । पास लिएपछि नेपाली प्लेटको बाइक बेसक्याम्प पु(याउन सकिन्छ । तर, चारपांग्रेलाई भने प्रवेश अनुमति छैन । रसुवागढीसम्म आफ्नै फोरह्विल गाडी र बसमा पुग्न सकिन्छ । आफ्नै बाइक भएमा सीधै केरुङ पुग्न सकिन्छ, नत्र चिनियाँ गाडीमा केरुङ जानुपर्छ । चीनको केरुङमा बेसक्याम्प जाने भाडाका गाडी खोज्नुपर्छ ।

नेपालमा तिब्बत यात्रा गराउने प्रशस्तै ट्राभल एजेन्सी छन्, उनीहरूमार्फत गए गाडी खोज्ने झन्झट हुँदैन । प्रिज्मा एडभरटाइजिङका सिइओ रञ्जित आचार्यका अनुसार केरुङबाट आठ घन्टामा टिंग्री पुगिन्छ । ५ हजार उचाइको टिंग्रीमा वास बस्नुपर्छ । अर्को दिन साढे तीन घन्टामा बेसक्याम्प पुगिन्छ । सडक दुई लेनको कालोपत्रे छ । बाइक न्यूनतम २०० सिसीको लैजानुपर्छ । नत्र उचाइमा कुदाउँदा बाइकले नतान्न पनि सक्छ । बाइकमा एकैपटक जान सकिँदैन, अल्टिच्युडको समस्या हुन सक्छ । बाइकमा जाँदा पनि टिंग्रीमा वास बस्नुपर्छ ।

कहाँ वास बस्ने 
रसुवागढीबाट घन्टाभरमै केरुङ पुगिन्छ । तर, नेपाली समय ३ बजेभित्र पुगिसक्नुपर्छ । नत्र चिनियाँ अध्यागमन बन्द हुन सक्छ । केरुङमा नेपाली होटेलररेस्टुरेन्ट प्रशस्तै छन् । पहिलो दिन त्यहीँ वास बस्नुपर्छ । कतिपय यात्रु बेसक्याम्प जाँदा नयाँ टिंग्रीमा वास बस्ने र फर्किंदा पुरानो टिंग्रीमा बस्ने गर्छन् । नयाँ र पुरानो टिंग्रीको दूरी ३० किलोमिटर छ । बेसक्याम्पमा १८र२० वातानुकुलित टेन्टेड रुमहरू पनि छन् । बेसक्याम्पमै रात बिताउन पनि सकिन्छ । तर, मौसमअनुकूल नहुने भएकाले टिंग्रीमै फर्किन उत्तम हुन्छ । अर्को दिन टिंग्रीबाट केरुङ फर्किन सकिन्छ । आफ्नै गाडी हुनेहरू रसुवागढी वा स्याफ्रुेबेँसी आएर पनि बस्छन् । नत्र केरुङमै वास बस्नुपर्छ ।

के–के बोक्ने रु
बेसक्याम्प यात्रा उचाइमा हुन्छ । अल्टिच्युड लाग्ने सम्भावना हुन्छ । टिंग्री ४२ सय मिटर उचाइमा छ । बेसक्याम्प ५२ सय मिटर उचाइमा छ । चिसोबाट जोगिन न्यानो कपडा लगाउनुपर्छ । साथै, अल्टिच्युड सिकनेसको औषधि पनि खानुपर्छ । अझ काठमाडौंदेखि नै औषधि खाएर जाँदा राम्रो हुने आचार्य बताउँछन् । चिसो हावा चल्ने हुनाले टोपी, चस्मा, सनब्लक क्रिम बोक्नुपर्छ । अल्टिच्युड औषधि खानेले समय–समयमा पानी पिउनुपर्छ । ठाउँ–ठाउँमा होटेल छन्, खानाको समस्या पर्दैन । बाइक चलाएर जानेहरूले विशेष ख्याल गर्नुुपर्छ । नत्र अल्टिच्युडले हिर्काउन सक्छ ।

के–के देख्न पाइन्छ 
तिब्बतबाट सगरमाथा छर्लंग देखिन्छ । फोटो खिच्दा नदीसहित सगरमाथालाई कैद गर्न सकिन्छ । नेपालमा नदी उत्तरबाट दक्षिण बगेको देखिन्छ, त्यहाँ दक्षिणबाट उत्तरतिर बगेको देखिन्छ । साथै, हिमाली रेन्ज पनि दक्षिणतिर देखिन्छ । उत्तरतिर हिमाल देखिरहेका नेपालीलाई नौलो लाग्छ । बाटोमा चित्ताकर्षक निला हिमाली दह पनि देखिन्छन् । नेपालतर्फको बाटो सहज छैन । चीनतर्फ बाटो स्मुथ छ । घुमाउरो नागबेली सडक भएर बेसक्याम्प पुगिन्छ । यो बाटोलाई चिनियाँहरू याक ससेज ९आन्द्रा० भन्दा रहेछन् । सडक वनस्पतिको लेबलभन्दा माथि छ । त्यहाँ हरियाली देखिँदैन, जता हेरे पनि मरुभूमि ।

कति खर्च लाग्छ 
काठमाडौंबाट रसुवागढीसम्म २० हजारमा स्कोरपियो पाइन्छ । कम्तीमा ५ जना अटाउन सकिन्छ । आफ्नै गाडी र बाइकमा पनि जान सकिन्छ । केरुङमा खानरबस्न त्यति महँगो छैन । केरुङबाट बेसक्याम्प जान प्रतिदिन १० देखि ५० हजारसम्म भाडाका गाडी पाइन्छन् । आचार्य भन्छन्, ‘टिंग्रीमा पनि खान, बस्न त्यति महँगो छैन । सस्ता होटेल पुरानो टिंग्रीमा छन्, अलि महँगा होटल नयाँ टिंग्रीमा छन् । प्रतिरात ३ हजारदेखि १० हजारसम्म मूल्यका कोठा पाइन्छन् । नेपालका रेस्टुरेन्टको मूल्यमै खान पाइन्छ । मध्यमस्तरको एभरेष्ट बेसक्याम्प यात्रामा प्रतिव्यक्ति ३५ देखि ४० हजार खर्च लाग्छ ।’





error: Content is protected !!