एउटा सविचको भरमा एक बर्ष देखि पुरै गाँउपालिका

सदरमुकाम रहेका सचिवले खाली कागजमा हस्ताक्षर गरेर गाँउ पठाउँछन्
एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्न सक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्मको तर, जाजरकोटको कुशे गाँउपालिकाका एक जना वडा सचिवले ९ ओटा वटाको जिम्मेवारी एक बर्ष देखि सम्हाल्दै आएका छन् । स्थानीय तहको चुनाव भएको एक बर्ष वितिसकेको छ । तत्कालिन गाविस सचिव सत्यदेव खनालले एक बर्ष देखि पुरै गाँउपालिकाका ९ वटै वडाको कामकाज गदै आएका छन् । लामो समयसम्म कर्मचारी ब्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो ।
तर, ९ वटा वडाको जिम्मेवारी एक्लैले कसरी संभव छ ? । उनले सदरमुकाम स्थित गाँउपालिकाको सम्पर्क कार्यालयमा बसेर ९ वटै वडाको जिम्मेवारी सम्हालिरहेका छन् । स्थानीय सरकार संचालन कार्यविधि २०७४ मा वडासचिवलाई पञ्किाधिकारी तोकेको छ । वडा सचिवको हस्ताक्षर विना जन्म दर्ता, मृत्यु दर्ता र बसाईसराईको काजगात बन्न सक्दैन । तर, वडा सचिव खनाल सदरमुकाममै भएपनि गाँउपालिकाको पञ्किरणको काम भने रोकिएको छैन ।
वडा सचिव खनालले नागरिकता लगायतका सिफारिसमा सदरमुकामबाट अग्रिम (ब्ल्याङ्क ) हस्ताक्षर गरेर गाँउ पठाईदिन्छन् । त्यसमा वडाध्यक्षले प्रमाणित गरेर पठाउने गरिएको छ । जन्मदर्ता, विवाह दर्ता, मृत्यु, बसाईसराई, नाताप्रमाणित, लक्षित बर्गको सिफारिस पनि त्यसरी नै खाली लेटरप्याडमा हस्ताक्षर गरेर पठाउने र त्यहाँ रहेका तत्कालिन प्रशासन सहायक, समाजजिक परिचालक र लेखा सहायकले विवरण भरेर दिने गरिएको गाँउपालिका प्रमुख हरिचन्द्र बस्नेतले बताए । उनले बारम्बार माग गर्दा पनि सरकारले वडा सचिव नपठाउँदा समस्या भएको बताए । ‘के गर्ने काम चलाउनै पर्यो । सचिव एक जना मात्र छन् । गाँउमा बसेपनि कुन वडामा गएर काम गर भन्ने । भौगोलिक विकटताले एक वडा बाट अर्को वडा पुग्न एक दिन पैदल हिड्नुको विकल्प छैन । साह्रै समस्या भएपछि यस्तो उपाय निकालेका हौ ।’ उनले भने–‘दरबन्दी अनुसारका कर्मचारी सरकारले उपलब्ध नगराउँदासम्म यो समस्या रहिरहन्छ । सेवाग्राहीलाई दुःख दिनु भन्दा केही समय यसरी चलाऔ भनेर जनताको काममा बाधा नपुग्ने गरि सदरमुकामबाटै काम गरिरहेका छौ ।’ प्रत्येक वडामा आवश्यक काजगातमा २० वटा जतिमा वडा सचिवले पहिले नै सहिछाप गरेर गाँउ पठाउने गरिएको र सकिने वित्तिकै पुनः पठाउने गरेको उनले बताए ।
गाँउमा वडा सचिव नहुँदा तत्काल गर्नु पर्ने विभिन्न सिफारिसहरु, जन्म, विवाह, बसाईसराई र मृत्यु दर्ताको काम प्रभावकारी रुपमा हुन सकेको छैन । सचिव सदरमुकाममा वडाध्यक्ष कहिले काँहा कहिले काँहा भेटाउनै मुस्किल पर्ने कुशे–५ का निर्मला थापाले गुनासो गरिन । उनले पहिलेको भन्दा नागरिकलाई अहिले सास्ती भएको बताए । ‘सिंहदरबारको अधिकार गाँउमा आउने भनेर खुबै नारा लगाईए पनि एक बर्षको अवधीमा जनताले स्थानिय सरकारको कुनै अनुभुति गर्न पाएनन् ।’ उनले भनिन–‘गाँउमा वडा सचिव नबस्दासम्म सामान्य कामको लागी पनि सेवाग्राही भौतारिनु पर्छ ।’
वडा सचिव मात्र होईन कार्यकारी प्रमुख र गाँउपालिका प्रमुख तथा उपप्रमुख पनि सदरमुकाममै बस्ने गरेका छन् । सदरमुकामबाट एक दिनको पैदल दुरीमा रहेको यो गाँउपालिकामा बैक नहुँदा आर्थिक कारोबार समेत सदरमुकाममै हुने हुँदा सेवाग्राही सामान्य कामका लागी पनि सदरमुकाम धाउन बाध्य छन् ।










