जोखिममा खलंगा

जाजरकोट — भेरी नगरपालिका ३ र ४ मा पर्ने खलंगा बजारका न्युरोड, शान्तिचौतारा, सिमलगैरी, थाप्ले र स्याला पहिरोको उच्च जोखिममा छन् । शान्तिचौतारादेखि थाप्लेसम्मका सडक किनारामा रहेका ३ दर्जन घर जोखिममा परेका हुन् । सवारी आवागमनमा रोक लगाइएको छ ।
न्युरोडमा करिब सय मिटर सडक पहिरोले छोपेको छ । मापदण्डअनुसार सडक निर्माण तथा ढल निकासको व्यवस्था नहुँदा बजारभित्र ठूलो पहिरो जानुका साथै दर्जन स्थानमा सडक भासिएको छ । ‘तत्काल पहिरो रोकथाम र ढल निकासको व्यवस्था नगरे बस्ती नै बग्ने खतरा छ,’ स्थानीय धनसरा शाहीले भनिन्, ‘अलिकति पानी पर्नेबित्तिकै पहिरो जान थाल्छ ।’
भिरालो भूबनोटको खलंगामा अव्यवस्थित सडक निर्माणले जोखिम बढाएको स्थानीयको गुनासो छ । रुपैडिहादेखि तेन्जे भेरी करिडोरको बाइपासका रूपमा रहेको शान्तिचौतारा–कालेगाउँ सडक स्तरोन्नतिका क्रममा ग्याभिङ र नाली निर्माणलगायत काम गुणस्तरीय नभएको उनीहरूको भनाइ छ ।
सडक निर्माणका क्रममा न्युरोड सबैभन्दा बढी जोखिममा परेको छ । सडक डिभिजन कार्यालय चौरजहारीले खलंगा–रिम्ना सडक स्तरोन्नतिका लागि गतिलो डिजाइन
नबनाउँदा र गुणस्तरीय निर्माणमा ध्यान नदिँदा ठाउँ–ठाउँमा पहिरोको जोखिम बढेको भेरी नगरपालिका ३ का वडाध्यक्ष लीलाबहादुर शाहले बताए । १२ करोड लागतको सडक स्तरोन्नति रोजेन्द्ररजलजला जेभी काठमाडौंले गर्दै आएको छ । न्युरोडको पहिरो नियन्त्रण गर्न करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने वडाध्यक्ष शाहको भनाइ छ ।
ठाडो भित्तामा भवनसंहिता तथा प्राविधिक डिजाइनबिना ४र५ तले घर निर्माण गर्नु जोखिम निम्त्याउने अर्को कारण हो । नगरपालिका क्षेत्रभित्र नाली र ढलको उचित व्यवस्था छैन ।
यस्तो अवस्थामा यहाँ पहिरोको जोखिम टार्न स्थानीय सरकारले नभ्याउने र तत्काल माथिल्लो निकायले पहल नथाले ठूलो धनजन क्षति हुने भेरी नगरपालिकाका प्रमुख सीपी घर्तीले बताए । सडक विभाग, भवन तथा सहरी विकास विभागलगायत निकायले तत्काल उचित योजना तथा बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।










