कर्णाली करिडोर निर्माणको लागि हेलिकप्टरबाट लगियो विस्फोटक पदार्थ

नरजन तामाङ
हुम्ला,राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको ९५ किलोमिटर मध्ये चीनको सिमा नाम्खा गाउँपालिकाको सडक खण्डमा रहेको चट्टान फुटाउनको लागि विस्फोटक पदार्थ भित्रिएको छ ।नाम्खा गाउँपालिकाको च्याछहराको चट्टान र कर्णाली करिडोरको अन्य भागका चट्टान विस्फोटको लागि ३० क्विन्टल विस्फोटक पदार्थ जिल्लामा भित्रिएको हो ।
सुर्खेत विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टरले विस्फोट पदार्थ हुम्ला जिल्ला पुर्याएको हो । विस्फोटक पदार्थ नहुँदा २ वर्ष अघि देखि यो सडक खण्ड निर्माणको काम रोकिएको थियो ।विस्फोटक पदार्थ नेपाली सेनाको प्रत्यक्ष संलग्नतामा कर्णाली करिडोरको चट्टान अवरोध हटाउनको लागि प्रयोग गरिने छ ।
चीनसँग हुम्ला जोडिन ९ किलोमिटर मात्रै बाँकि
हुम्ला जिल्ला चीनको ताक्लाकोटसँग जोडिन ९ किलोमिटर बाँकि रहेको छ । नाम्खा गाउँपालिका अन्तरगत च्याछहराका चट्टानका कारण हुम्लाको सदरमुकाम सिमकोट चीनसँग जोडिन ९ किलो मिटर बाँकी रहेको हो । अहिले नाम्खा गाउँपालिकाको ओखरथाल सम्म दैनिक आधा दर्जन गाडीहरु गुड्ने गरेका छन् ।
कर्णाली करिडोर अन्तर्गत हिल्सादेखि खुलालुसम्म २ सय ९० किलोमिटरको दुरी रहेको छ । नेपाली सेनाले खुलालुदेखि सल्लिसल्लासम्मको १ सय ५४ दशमलव १० किलोमिटर सडक निर्माण गर्ने जिम्मा पाएको छ ।
चीन र नेपालको सिमा हिल्सा सिमिकोट सडक निर्माण आर्थिक वर्ष २०५५÷०५६ बाट सुरु हुने भनियतापनि स्थानीयको चर्को दवावपछि आर्थिक वर्ष २०६५÷०६६ बाट निर्माण कार्य सुरु भएको थियो ।










