मन्त्री बस्नेतसँग जापानी राजदूतको भेट

काठमाडौँ ः वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।
सो अवसरमा मन्त्री बस्नेतले जापानले नेपालको पूर्वाधार निर्माण, यातायात, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनमा निस्वार्थ सहयोग गर्दै आएको बताउनुभयो ।
मन्त्री बस्नेतले नेपाल लामो राजनीतिक संक्रमणबाट मुक्त भई अब विकास र समृद्धितर्फ अभि बढेको भन्दै जापानका तर्फबाट त्यस कार्यमा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री बस्नेतले आफ्नो मन्त्रालयले वन संरक्षणमा जनताको सहभागितालाई उच्च महत्वमा राखेको अवगत गराउँदै प्राकृतिक सम्पदाहरुबाट प्राप्त लाभहरुको समन्यायिक वितरणमार्फत रोजगारीको सिर्जना र जनताको जीवनस्तरमा सुधार ल्याउने गरी काम थालिएको स्पष्ट गर्नुभयो ।
भेटमा राजदूत मासासीले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि नुवाकोटको ओखरपौवामा जापान सरकारको सहयोगमा निर्मित ल्याण्डफिल साइट फोहोरले भरिएको उल्लेख गर्दै त्यसको विकल्पमा सोच्न आग्रह गर्नुभएको मन्त्रालयले जनाएको छ ।
साथै उहाँले चुरे क्षेत्रको संरक्षण, उपत्यकाको फोहोरमैला व्यवस्थापन, तथा जलाधार संरक्षणका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।










